२३ चैत्र २०७८, बुधबार

काठमाडौं । एक महिला जो विवाहजस्तो पवित्र सम्बन्धलाई जागिर, धन्दाका रुपमा अंगालेर हिँड्छिन् भने के भन्ने ? एउटा पुरुषसँग विवाह गरेर सम्पत्ति बटुली सकेपछि अर्काे पुरुषतिर सल्किने महिलालाई नेपालको कानुनले बहुविवाह मुद्धामा कारबाही गर्ने कि नगर्ने ? कि कानुन पुरुषका लागि मात्र लाग्ने महिलालाई नलाग्ने ? भनिन्छ, महिला पुरुष समान, एउटै रथका दुई पांग्रा हुन् । समाजमा महिलामात्र पीडित हुन्छन् कि पुरुष पनि पीडित हुन्छन् भन्ने यो घटनाले देखाउँछ ।

घटनाका पात्रद्वय हुन् उपसचिवबाट अवकाश प्राप्त भीमलाल लामिछाने र कान्छी श्रीमती कल्पना डौलिया । विवाह भएको महिना दिनमै कल्पना घरबाट गायब भइन् । खोज्दै जाँदा उनी फेला परिन् पूर्वपतिको साथमा । उनले पूर्वपतिसँग डिभोर्स नगरी मुद्धा मामिला खेपिरहेकी रहेछिन् । र, यहीँ समयमा सम्पत्ति कुम्ल्याउने उद्धेश्यका साथ कल्पना भीमलालसँग मन्दिरमा गई विवाह बन्धनमा बाँधिएकी रहेछिन् । कथाको सुरुवात यसरी हुन्छ ।

७७ वर्षका बयोवृद्ध भीमलाल आराम गर्नुपर्ने समयमा अदालत कुदिँरहनु परेको छ न्यायका लागि । १३ वर्षअगाडि उपसचिवबाट अवकाश पाएका भीमलालको पहिलो घरजम २०५० सालमा टुंगियो। त्यसपछि एक्लो ज्यानलाई दौँडाइरहेका भीमलाललाई अचानक नयाँ अफर आयो– बूढेसकालको सारथि ।

सुरुमा त भीमलालले त्यो अफरलाई मान्न तयार भएनन् । तर एक्लो ज्यान कतिखेर के हुन्छ भर हुन्न भन्दै उनलाई फकाइ फुलाइ गरियो । अन्ततः थला पर्दा तातोपानी तताएर खुवाउने ल्याउनैपर्ने निर्णयमा पुगे भीमलाल । पहिलो घरजमबाट ठक्कर खाएका भीमलालले सोचेनन् दोस्रो घरजमबाट पनि ठक्कर खान्छु भनेर । र, दोस्रो विवाह भयो ०६६ साल मंसिर ३० गते ।

को हुन्, भीमलाल ?

दोस्रो घरजमबाट झन् बेसहारा बनेका भीमलाल पोखराका स्थायी बासिन्दा हुन् । भीमलालको पहिलो श्रीमतीबाट तीन छोरा र दुई छोरी छन् । नाति–नातिनाको विवाह गर्ने उमेरमा पत्नी डिभोर्स दिएर आधा सम्पत्ति लिएर हिँडिन् । २०५० मा अंश लिएर हिँडेको ७ वर्षपछि कानुनी रुपमा दुईबीचको सम्बन्ध टुंगियो । त्यसपछि छोराले पनि बाउ चिनेनन्, छोरी ज्वाइँको पेवा ।

श्रीमति आधा सम्पत्ति लिएर गएपछि भीमलाल बुढेसकाल यसै कटाउने बाचाका साथ हिँड्दै थिए । यहीँबीचमा नेपाली कांग्रेसबाट संविधानसभा सदस्य बनेकी शारदा पौडेल र मुक्तिराम अधिकारीसँग भीमलालको हिमचिम बाक्लियो । १७ वर्षसम्म एक्लै चुपचाप हिँडिरहेका उनलाई पौडेल र अधिकारीले बुढेसकालको सहारा खोज्ने भन्दै जबर्जस्ती विवाह गराउने मोडमा पुर्याइदिए ।

डिभोर्सी र डिभोर्सीको मनपेट मिल्ने भन्दै दुवैले भीमलाललाई चितन भरतपुरकी कल्पनासँग भेट गराइदिए । अन्ततः भीमलाल कल्पनालाई दुलही बनाउन राजी खुसी भए । चार लाख खर्चेर विवाह भयो । भीमलालसँग पूर्वसांसद शारदाले विवाह सम्पन्न गराएको जस लिएर २ लाख लिएर हिँडिन् ।

२०६६ साल मंसिर ३० गते दोस्रो श्रीमति बनेर कल्पना भित्रिएको केही दिनमै कल्पनाले भीमलाललाई विवाह दर्ता गर्न फकाउन थालिन् । र, विवाह भएको ४ महिनामै (२०६६ चैत ९ गते) भीमलाल र कल्पनाको विवाह दर्ता भयो । विवाह दर्तापछि सुरु भयो सक्कली खेल ।

कल्पनाको धन्दा रहेछ– बयोवृद्धाको श्रीमति बनेर भित्रिएर विवाह दर्ता गर्ने अनि सम्बन्धविच्छेदको मुद्दा दायर गरेर आधा सम्पत्ति कुम्ल्याउने । पेशाले अनमी भनेर चिनिने कल्पनाको धन्दाचाहीँ सम्पत्ति भएको केटा खोज्ने, विवाह दर्ता गर्न लगाउने अनि डिभोर्स दिएर सम्पत्ति लिएर बिदा हुने ।

को हुन्, कल्पना ?

कल्पनाको पहिलो विवाह लमजुङका खुशीराम डौलियासँग भएको थियो। पहिलो विवाहपछि सम्पत्ति लिएर हिँडेकी कल्पनाको दोस्रो विवाह टीकाराम न्यौपानेसँग भयो । टीकारामसँग विवाहपछि विवाद गरेर सम्पत्ति हडप्ने दाउँमै रहँदा भीमलालसँग कल्पना विवाह बन्धनमा बाँधिइन् । अदालतमा दायर भएको मुद्धा हेर्दा खुशीरामसँग ०६३/४/२६ कल्पनाको सम्वन्धविच्छेद भएको प्रमाण देखिन्छ ।

सम्बन्धविच्छेद भएको तीन वर्ष नकट्दै २०६६ असार १७ गते चितवन भरतपुर नगरपालिका–९, शरदपुरका टीकाराम न्यौपानेसँग उनी दोस्रो विवाह बन्धनमा बाँधिन्छिन् । टीकारामसँग विवाह भएको ४ महिनामै निहुँ खोजेर अदालतको ढोकामा पुग्छिन् ।

चितवन जिल्ला अदालतले २०६६ कात्तिक १३ गते दुई पक्षबीचमा आपसी सहमतिका आधारमा केही रकममा मिलेमतो गरेर पठाएको देखिन्छ । दोस्रो पति टीकारामसँग मिलापत्र गराएर सम्बन्धविच्छेद नै नभएको अवस्थामा भीमलालको दुलही बन्न पुगिन् कल्पना । २०६६ मंसिर ३० गते शारदा र मुक्तिरामको बलजफ्तीमा भीमलालाई कल्पनासँग विवाह गराइयो । यसअघि तनहुँका मानबहादुर दरै, काठमाडौंका रामबहादुर मुल्मीसँग विवाहको अभिलेख नभेटिए पनि उनीहरूबाट जग्गको राजीनामा आफ्नो नाममा पास गराएको पनि भेटिएको छ ।

मन्दिरमा लगेर टिकाटालो गराउनेचाहीँ शारदा र मुक्तिरामसँगै कानुन व्यवसायी ध्रुवबहादुर खत्री र सुकदेव गौतम । षड्यन्त्र गरेर विवाह गराइएको भीमलाललाई पत्तै भएन । पछि कल्पनाल उनीहरुको सहारामा आधी अंश पाउन सम्बन्ध विच्छेदको मुद्दा हाले ।

जिल्ला अदालतबाट भीमलाललाई मुद्धा हराइयो । अन्यायविरुद्ध लड्न भीमलाल प्रमाणहरू भेला पारेर पुनरावेदनका लागि उच्च अदालतको शरणमा पुगे । त्यहाँ कल्पनाको नियतमै खोट रहेको, आफूसँग वैवाहिक सम्बन्ध कायमै रहँदा टीकारामसँग कान्छी श्रीमतीकै रूपमा रहेको भरतपुर नगरपालिकाको ०६७ माघ १३ को माइन्युट पेश गरे ।

न्यायाधीश नरबहादुर शाहीले ०७५ जेठ १६ गते फैसला सुनाए, वादी भीमलाल लामिछाने र प्रतिवादी कल्पना लामिछानेबीच लोग्ने स्वास्नीको नातासम्बन्ध कायम रहन नसक्ने हुँदा शुरुको फैसला उल्टी बादीको फिराद दाबीबमोजिम विवाह बदर हुने ।

पुनरावेदनले विवाह बदर गराइदिएपछि भीमलाल फेरि सर्वोच्च पुगे । कोरोना कहरमा मुद्धा अधकल्चो भएपछि मुद्धामामिला केही धकेलियो । कोरोना नफैलिँदै भीमलालले पत्नी भनिएकी कल्पनासहित पूर्वसांसद शारदा, कांग्रेस नेता मुक्तिराम अधिकारी र ती दुई वकिलविरुद्ध रिट दायर गरेका थिए ।

कोरोना लहर मत्थर भएपछि अदालतको ढोका नपुग्दै प्रधानन्यायाशीश प्रकरणले देश ढपक्कै छोप्यो । भीमलालजस्ताको मुद्धाहरु पनि छोपिए । प्रधानन्यायाधीश प्रकरणको हल्लाखल्ला केही साम्य भएसँगै यही चैत अन्तिमा भीमलालको मुद्धा पेशी चढ्ने सुनाइएको छ ।
अब, सर्वाेच्चले दूधको दूध पानीको पानी छुट्याउछ कि छुट्याउँदैन ?

उच्च अदालत पोखराको फैसला

bhimlal sir

प्रतिक्रिया दिनुहोस्
LIVE TV