२३ चैत्र २०७८, बुधबार

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीमा आगामी चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ ।

साठी वर्षदेखि पनौतीमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन ।

यही चैत २८ गतेदेखि २०७९ वैशाख १ गतेसम्म जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका संयोजक सुरेश सैँजूले बताए ।

जात्रा सहज ढङ्गले सञ्चालन गर्नका लागि सैँजूको अध्यक्षतामा समिति गठन गरिएको छ । विसं २०६६ देखि जनसहभागिताबाट रकम सङ्कलन गरी भव्यरूपमा जात्रा सञ्चालन गरिँदै आएको छ । अब कोष स्थापना गरी जात्रा सञ्चालन गरिने सैँजूको भनाइ छ ।

विसं २०६६ मा जात्रा आयोजना गर्न रु पाँच लाख खर्च भएको थियो । यसपटक रु १६ लाख खर्च हुने अनुमान गरिएको छ । जात्राका लागि पनौती नगरपालिकाले रु १५ लाख सहयोग गरेको छ ।

चैत २८ गते सांस्कृतिक परिक्रमा गरी चैत २९ र ३० गते हरसिद्धि डबली, पनौती बजारमा नाच प्रदर्शन गरिने छ । यस्तै वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात जात्रा सम्पन्न हुने छ ।

त्रिशक्ति हरसिद्धिको पनौतीमा बास बसुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV