२२ चैत्र २०७८, मंगलवार

वीरगञ्ज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा सहभागी हुनका लागि सबैलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् । मंगलबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अन्य पार्टी काम नलाग्ने भएकाले पनि एमालेमा आएर राष्ट्र निर्माणका अभियानमा सहभागी हुनुपर्ने तर्क गरे ।

त्यस्तै उनले कतिपय भ्रममा परेर अन्य पार्टीमा रहेको भन्दै उनीहरुलाई पनि एमाले प्रवेश गर्न आग्रह गरे । अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन सरकार जनताको मतले नभई अदालतले गलत ढंगले बनाएको दोहो¥याए ।

उनले भनेका छन्, ‘कतिपय साथीहरु विभिन्न प्रकारणको भ्रममा परेर अथवा अप्ठ्यारोमा फसेर विभिन्न पार्टीहरुमा अल्झिएर वा रुमलिएर रहनु भएको होला । म उहाँहरुलाई सबैलाई ती पार्टीहरु काम लाग्दैनन् । ती परित्याग गरेर नेकपा (एमाले)मा आउन र राष्ट्र निर्माणको यस महाअभियानमा सामेल हुन सबैलाई हार्दिक आग्रह, अनुरोध गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले थप भनेका छन्, ‘अहिले यहाँहरुले देख्नुभएको छ । सुन्न भएको छ । पाँच दलीय गठबन्धन भन्या छ । अपवित्र ढंगले, गलत ढंगले जन्मिएको गठबन्धन । अहिलेको सरकार जनताले बनाएको सरकार होइन । जनताले बनाएको सरकारलाई अध्यारा कुनाहरुमा षडयन्त्र गरेर, त्यही पनि अदालतमा लगेर, कागजको नौ सिङ भन्छन् नि । नौं सिङ मध्ये टाउकोको सिङले हानेको होइन । नौ सिङमध्ये कोखाको सिङले हानेर एमालेलाई सरकारबाट हटाएर दुनियाँमा कहीँ नभएको अदालतले सरकार बनाउने, अदालतबाट प्रधानमन्त्री छान्ने काम गरेर यो सरकार गठन ग¥या हो ।’

त्यस्तै अध्यक्ष ओलीले केही स्वार्थी मान्छेहरुले आफूलाई मधेश विरोधी भनेर हल्ला चलाएको आरोप समेत लगाए । उनले आफूलाई मधेशको मान्छे भएको दाबी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV