२१ चैत्र २०७८, सोमबार

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन नहुने बताएका छन् ।

सोमबार भरतपुरमा पत्रकारहरुसँग बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले हुँदा खाँदाको सरकार ढाल्ने शक्तिसँग कुनै पनि हालतमा गठबन्धन नहुने उल्लेख गरे ।

उनले माओवादी नेताहरुले एमालेसँग गठबन्धनको कुरा चलेको भन्दै गरेको कुरा हल्ला तथ्यहीन भएको दाबीसमेत गरेका छन् ।

‘जजसले अपराध गर्‍यो त्यो शक्तिसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन । दुई पार्टीका नेताहरुका बीचमा भेटघाट हुन सक्छ । भेट हुँदा राजनीतिक विषयमा कुरा, समीक्षा हुन सक्छ । तर गठबन्धनका लागि छलफल चलेको भन्ने कुरा सत्य होइन,’ उनले भने ।

उनले स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पनि दलसँग तालमेल नगर्नेसमेत बताएका छन् । उनले केही स्थानीय तहमा तालमेल भने हुनसक्ते बताए । यद्यपि गठबन्धन नै भने नहुने स्पष्ट पारे । निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरु एक भएर आएपनि एमालेले भिड्न सक्षम रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ ।

‘प्रधानमन्त्री चुच्चे नक्सालाई बुच्चे नक्सा बनाएर फर्किनुभयाे’

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको कुनै तुक नभएको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीले चुच्चे नक्सालाई बुच्चे नक्सा बनाउन भारत भ्रमणमा गएको पनि आरोप लगाएका छन् ।

भारतस्थित नेपाली दूतावासमा पूरानो बुच्चे नक्सा राखिएको सञ्चार माध्यमहरुमा प्रकाशित भएका थिए । जबकी अघिल्लो केपी ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियधुरा र लिपुलेकसहितको नक्सा संसदबाट पास भएको थियो ।

त्यस्त्तैगरी प्रधानमन्त्रीको भारत भ्रमणमा बनारसको भ्रमण र दर्शन गर्नुबाहेक अन्य उपलब्धि नभएको टिप्पणी वरिष्ठ उपाध्यक्ष पोखरेलको छ ।

‘प्रधानमन्त्रीले भारतमा चुच्चे नक्साको विषयमा कुरा पनि उठाइउनु भएन । प्रधानमन्त्रीको यो भ्रमणको उपलब्धी श्रीमती लिएर वनारस दर्शन गर्नुभन्दा बढी म देख्दिनँ। मुलुकको बलियो पोजिसनलाई पनि कमजोर बनाएर फर्कनुभयो,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV