१८ चैत्र २०७८, शुक्रबार
  • समीर जोशी

काठमाडौं । अनेक सतर्कता र नियमका बावजुद नेपालमा सडक दुर्घटनाको दर बढ्दो क्रममा छ । सडक दुर्घटनाका कारण वर्षेनी हजारौं मानिस ज्यान गुमाउन बाध्य छन् भने त्यो भन्दा बढी संख्यामा घाइते हुने गरेका छन् ।

विगत ३ वर्षको अवधिमा मात्रै २६ हजार ५७० सडक दुर्घटना भएका छन् । सडकको दुरावस्था, तीब्र गति, चालकको लापरवाही क्षमताभन्दा बढी यात्रु बोक्ने बानीले दुर्घटना नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।

गत बुधबार गोकर्णेश्वर नगरपालिका १ को विपी चोक नजिकैको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा स्कुल गइरहेका दुई बालिकाको घटनास्थलमै ज्यान गयो । एक जना गम्भीर घाइते भए ।

त्यपछि सो क्षेत्र तनावग्रस्त बन्यो । आक्रोशित भिडले टिपरमा तोडफोड समेत गरे । यस्ता दुघर्टना नियमित जसो हुने गरेको छ । टिपरको ठक्करबाट मात्र विगत चार बर्षमा २ हजार ६४९ दुर्घटना भएको छ भने चालु आथिक बर्षको फागुन मसन्त सम्म ५०२ टिपर दुर्घटना भएका छन् ।

अधिकांश दुर्घटना गम्भीर हुने गरेको छ । यसखाले दुर्घटनाको मुल कारण चालकको लापरवाही नै हुने गरेको प्रहरीको निष्कर्ष छ । राम्रोसँग ड्राईभिङ तालिम नलिएको, भनसुन तथा घुसखोरीको आधारमा लाइसेन्स उपलब्ध हुनु, चालकले सडकमा ध्यान नदिनु जस्ता कारण दुर्घटना हुने गरेको प्रहरी बताउँछ ।

अर्को खराब सडकका कारण समेत दुर्घटना हुने गरेको पाइएको छ । काठमाडौं उपत्यकाभित्रका अधिकांश सडकमा पैदल यात्रुका लागि बनाईएका जेब्राक्रसका संकेत मेटिएका छन् । पैदल यात्रुले सुरक्षित सडक पार गर्न अत्यावश्यक यस्ता संकेत नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।

सडक दुर्घटनाका कारण वार्षिक झन्डै दुई हजार नागरिकको मृत्यु हुने र बाह्र हजारजति घाइते बन्ने प्रहरी तथ्याङ्क छ । २०६८ देखि २०७९ फाल्गुन मसान्तसम्म १ हजार ७ सय ६३ जनाको सवारी दुर्घटनामा परि ज्यान गएको छ । विगत तीन महिना यता मात्रै २६ हजार ५७० सडक दुर्घटना भएका छन् । तर सडक दुर्घटना न्यूनीकरणको पक्षमा ठोस काम गर्न राज्य चुकेको बिज्ञ बताउछन् ।

सरकारले सडक दुर्घटना न्युनीकरणको लागि अनेक नियम बनाएको छ । यो नियम पालना हुन्थ्यो भने दुर्घटनाको आँकडा यति भयावह हुने थिएन । तर, नेपालमा सडक दुर्घटनासम्बन्धी फितलो कानुन हुनुले नियम पालना गर्ने तर्फ चालक र सर्वसाधारणको समेत ध्यान पुग्न सकेको पाइँदैन ।

सोहीकारण सरकारले नियम बनाउने मात्रै होइन, नियम पालनामा समेत कठोर बन्न सके सडक दुर्घटना कम हुनसक्छ ।

LIVE TV