१४ चैत्र २०७८, सोमबार
  • प्रताप दुलाल

गत फेब्रुअरी २२ का दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ६ दिनमै युक्रेनलाई आफ्नो सेनाले कब्जामा लिने घोषणासहित युद्ध सुरु गरेपनि महिना दिन नाघिसक्दासमेत उनको भनाइ पूरा भएको छैन । युक्रेनविरुद्ध युद्धको उद्घोष गर्दैगर्दा १६ वर्ष केजीबीमा गुप्तचर भएर बिताएका पूर्वकर्णेल भ्लादिमिर पुटिनले सन् १९६७ मा भएको ६ दिन लामो अरब इजरायल युद्धलाई आफ्नो प्रेरणा बनाएका हुन सक्छन् ।

रुसी सेनाले युद्धको यो एक महिनाको अवधिमा युक्रेनका कतिपय प्रमुख शहरहरु कब्जामा लिइसकेको छ । आणविक भट्टीदेखि शहरी भवनहरू रुसी बमका शिकार बनेका छन् । रुसी सेनाका विरुद्धमा उत्रिएको युक्रेनी सेनालाई युक्रेनकै नागरिकहरुको स्वस्फूर्तः सहयोग रहेको छ । एक महिनादेखि चलेको युद्धको अहिलेसम्म देखिएको प्रकृति हेर्दा युक्रेनमा रुस र त्यहाँका राष्ट्रपति पुटिन नराम्ररी फसेको संकेत मिल्न थालेको छ । र युद्ध विश्लेषकहरुले मुलतः दुईवटा तथ्यमाथि बहस गर्न थालेका छन् । विश्लेषकहरुका अनुसार रुसी फौजले सहजसँग युक्रेन कब्जा गर्न सक्दैन । यदि रुसी फौजले युक्रेनमा कब्जा जमाइहाल्यो भने पनि उसले युक्रेनी भूमिलाई आफ्नो अधिनमा राख्न कठीन छ । त्यस अवस्थामा युद्ध लम्बिँदै जाने सम्भावनालाई नकार्न सकिँदैन ।

फेब्रुअरी २२ का दिन राष्ट्रपति पुटिनले किन युक्रेनमाथि आक्रमण गर्ने घोषणा गरे ? यो सवालको जवाफ अझैँ आएको छैन । पुटिन समर्थक रसियनहरुले युक्रेनले अत्याचार गरेकै कारणले युद्ध सुरु भएको दाबी गरिरहँदा उत्तर एटलान्टिक सन्धी संगठन नाटो आबद्ध मुलुकहरु भने युक्रेनले नाटोसँग सम्बन्ध गाँस्न खोजेकै कारण रुसले आफूमाथि सुरक्षा चुनौती बढेको आशंकामा युद्धको घोषणा गरेको तर्क दिँदै आएका छन् । नाटो राष्ट्रको यो तर्कलाई स्वयं रुसी राष्ट्रपति पुटिनले भने अस्वीकार गरेका छन् । पुटिनले युक्रेनमाथिको आफ्नो सैन्य कारवाहीको पक्षपोषण गर्दै युक्रेन रुसको अभिन्न अंग भएको तर्क प्रस्तुत गरेका छन् । आफ्नो यो तर्कमा उनले लेनिनमाथि समेत ऐतिहासिक गल्ती गरेको लाञ्छना लगाएका छन् ।

लेनिनले युक्रेनलाई अलग राष्ट्रको मान्यता दिएर समस्या सिर्जेको पुटिनको आरोप छ । रुसी र युक्रेनी दुबै जातिहरु स्लाभ भएकाले उनीहरुका बीच नश्लीय सम्बन्ध रहेको तर्क अगाडि सारेका छन् ।
विश्व मानचित्रमा युक्रेन स्वतन्त्र राष्ट्र भएको हुनाले उसले कुन राष्ट्र वा राष्ट्रहरूसँग के–कस्तो सम्बन्ध कायम गर्ने त्यसको निर्णय युक्रेनबासीले गर्ने हो । तर, युक्रेनसँग २ हजार २ सय ९५ किलोमिटर लामो सीमा जोडिएकै कारण यो भूमिमा रुसको चासो सुरक्षा हुनु स्वभाविकै हो । पछिल्ला दिनमा युक्रेनले नाटो लगायतका अन्य युरापेली मुलुकहरुसँग विस्तार गरेको सम्बन्धले रुसी सुरक्षामा परेको असरबारे रुस संवेदनशील हुुनुलाई अन्यथा मान्न सकिन्न । तर युक्रेनविरुद्ध युद्धको घोषणा गर्दैगर्दा पुटिनले रुसको सुरक्षामा चुनौती देखिएको प्रमाण भने प्रस्तुत गरेका छैनन् । युद्धको घोषणासँगै नाटोको सदस्यता चर्चामा आएपछि यतिबेला नाटोले युक्रेनलाई सदस्यता दिने विषय थाँतीमा राखेको छ ।

युक्रेनका विरुद्धको युद्ध घोषणासँगै पुटिनको आनीबानीबारे विज्ञ मानिएका कतिपय रुसी तथा पश्चिमा बुद्धिजीविलगायत सुरक्षा निकायका कर्मचारीलाई समेत रुसले सन् २००८ मा जर्जियामाथि आक्रमण गर्छ भन्ने विश्वास थिएन । धेरै विश्लेषक तथा सुरक्षाविद्हरू २०१४ मा रुसले युक्रेनलाई आक्रमण गरी क्रिमिया हडप गर्ला भन्ने पनि सोच्न भ्याएका थिएनन् । त्यही वर्ष रुसले युक्रेनको दोनेस्क तथा लुहानस्क ओब्लास्ट्स क्षेत्रमा पनि कब्जा जमाएको थियो । त्यसो त, युद्धको घोषणापूर्व ३–४ महिनासम्म पूर्वी युक्रेनको सीमानामा रुसले बृहत् सैनिक परिचालन गर्दा पनि धेरैले यसलाई पुटिनको धम्कीको रुपमा अथ्र्याएका थिए ।

अहिले यतिमात्रै अनुमान लगाउन सकिन्छ, युद्धको परिणाम कति घातक हुन्छ भन्ने केजीबीका पूर्व कर्णेललाई राम्रैसँग थाहा थियो । र यसका बावजुद पनि उनले युद्धको जोखिम मोले । युद्धबाट हुने प्रत्यक्ष र परोक्ष प्रभावहरूलाई उनले नजरअन्दाज गरे । यो एक महिनादेखि जारी युद्धमा युक्रेन शक्ति राष्ट्रहरू बीचको भूराजनीतिक द्वन्द्वको चपेटामा परेकै कारणले हिजोसम्म चिया गफ जस्तो लाग्ने युद्ध यतिबेला वास्तविकतामा परिणत भएको छ । र युद्धको यो घोषणासँगै पुटिनले युक्रेनको सार्वभौम राष्ट्रको हैसियतलाई पूर्णरुपले अस्विकार गरेका छन् भने दोश्रोमा उनले सुरक्षा विषयमा अमेरिका र नाटो गठबन्धनप्रति रहेको उनको पुरानो इबी फेर्ने माध्यम युक्रेनलाई नै बनाएका छन् ।

युक्रेनको सार्वभौम सत्ताका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कति अनुदार छन् भन्ने कुरा गत २२ फेब्रुअरीमा उनले सार्वजनिक गरेको वक्तव्यले स्पष्ट पार्दछ । पुटिनबाट जारी वक्तव्यमा इतिहासको हवाला दिँदै युक्रेन भन्ने राष्ट्र नै नभएको तर्क अघि सारेका छन् । यो सन् १९१७ को क्रान्तिपछि बोल्शेभिक नेता भ्लादिमिर लेनिनले रूसी भूभागमा कृत्रिम रूपमा खडा गरेको मुलुक भएको भन्दै युक्रेनको सार्वभौम अस्तित्वमाथि नै प्रश्न रहेको उल्लेख गरेका छन् ।

पुटिनले रुसी साम्राज्य टुक्र्याएर युक्रेनलगायत अन्य सोभियत गणतन्त्र स्थापना गरेबापत लेनिनको कटु आलोचना गरेका छन् । यसैले पुटिनको मान्यता अनुसार, युक्रेन कुनै देश नै होइन र रुसले आफ्नो ऐतिहासिक भूभाग फिर्ता लिन कुनै पनि समयमा सैनिक कारबाही गर्न सक्छ । यस अर्थमा सोभियत गणतन्त्रहरूको स्थापनालाई मान्यता नदिएर पुटिनले व्यावहारिक र सैद्धान्तिक त्रुटि गरेका छन् ।

लेनिन एक क्रान्तिकारी र उपनिवेशवाद विरोधी नेता थिए । बोल्शेभिक क्रान्तिपछि उनले नै रूसी साम्राज्यका उपनिवेश मुलुकहरू पोल्याण्ड, फिनल्याण्ड र तीन बाल्टिक गणतन्त्रहरू लाटभिया, लिथुआनिया र एस्तोनियालाई स्वतन्त्र गरिदिएका थिए । तर लेनिनको अवसानपछि सोभियत सत्तामा उदाएका जोसेफ स्टालिनले बाल्टिक गणतन्त्रलाई दोस्रो विश्वयुद्धपूर्व पुनः सोभियत संघमा गाभे ।

यतिमात्रै हैन स्टालिनले युक्रेन, बेलारुस, जर्जिया, उज्वेकिस्तानलगायत जारशाहीले विभिन्न कालखण्डमा आफ्नो साम्राज्यमा गाभेका अन्य मुलुकहरूलाई समावेश गरी सोभियत संघको स्थापना गरेका थिए । तर सोभियत संघको संविधानमा संघमा गाभिएका गणतन्त्रहरू आफ्नो राज्यशक्तिको क्षमता विकास गरेपछि स्वतन्त्र राष्ट्र बन्न कुनै पनि समयमा संघबाट अलग हुने उनीहरूको अधिकारलाई गरिएको सुनिश्चितता भने कायमै राखिएको थियो ।

यसले पनि युक्रेनमाथि यतिबेला भएको हस्तक्षेपमा पुटिनको गम्भीर त्रुटि देखिएको छ । योसँगै उनले २२ फेब्रुअरीको वक्तव्यमा ‘रूसको ऐतिहासिक भूभाग’ माथि दाबी गरेर सन् १९२२ मा सोभियत संघको स्थापनापछि बितेका सय वर्षमा विश्व मानचित्रमा भएका परिवर्तनलाई खारेज गरेका छन् । सोभियत संघको समेत सक्रिय सहभागितामा स्थापित संयुक्त राष्ट्रसंघ र त्यसको बडापत्रमा घोषणा भएका राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको अक्षुण्णता जस्ता मान्यताको पुटिनले ठाडो उल्लंघन गरेका छन् ।

योसँगै युक्रेनमाथि भएको हमलाले भोलिका दिनमा रुसले कुनै पनि पूर्व सोभियत गणतन्त्रमाथि ऐतिहासिक भूभागको दाबी गरी आफ्नो अनुकूल अनुसार सैन्य अतिक्रमण गर्न सक्ने सम्भावनालाई समेत बढाइदिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV