२८ फाल्गुन २०७८, शनिबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय नेकपा (एमाले) जनमत जनादेशले नभई परमादेशबाट पछाडि धकेलिएको बताएका छन् ।

बाराको आदर्शकोतवाल गाउँपालिकास्थित रामचरित्र भगत माध्यमिक विद्यालय परिषरमा आयोजित बृहत्त भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हामी केही दिन जनमत जनादेशले होइन, परमादेशबाट हामी पछाडि धकेलिएका थियौं । अबको उत्साहपूर्ण नेकपा (एमाले) प्रवेशको राष्ट्रिय लहरले सत्ताको दौडमा सजिलै जित्नै हैसियत प्रदान गरेको छ ।’

नेकपा (एमाले) पार्टीले पहिलो पटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग निर्माणको बजेट छुट्याई निर्माण प्रक्रिया अगाडि बढाएको स्मरण गराउँदै उनले सहरी विकास, जनता आवासलगायतका विभिन्न योजनाहरु अगाडि सारेको बताए ।

नागरिकताको सवालमा ‘वंशजको आधारमा नागरिकता प्राप्त गर्नुपर्छ’ भनेर अध्यादेशमार्फत् कानून बनाएपनि सरकारबाट हटाएपछि अध्यादेशबाट ल्याएको कानूनलाई ओझेलमा पार्ने काम गरिएको उनले बताए । उनले भनेका छन्, ‘तर अबको निर्वाचनपछि हाम्रो पार्टीले खानेपानी, सिंचाई, नागरिकता, कृषि आधुनिकीकरण, व्यापारको उन्नति, राष्ट्रिय उत्पादनलाई वृद्धि गर्दै आयात कम गर्ने र निर्यातलाई वृद्धि गर्ने लक्ष्य राखेको छ ।’

उनले थप भनेका छन्, ‘एमाले पहाड, मधेश तथा हिमाल सबै जनताको साझा पार्टी हो । यसले साझा बाटो बनाउँछ । रामचरित्र जीले यहाँको विकासमा उल्लेख्नीय भूमिका निर्वाह गर्नुभएको छ । उहाँको योगदानले यहाँका नागरिकहरुले बालबालिकाहरुले उच्च माध्यमिक तहका अध्ययन गर्न पाएका छन् । उहाँको योगदानलाई यहाँको जनताले भुल्न हुँदैन ।’

‘नेकपा एमाले यस्ता व्यक्तित्वहरुको साँझा सँस्था हो’, उनले भने, ‘उहाँ आज भएको भए नेकपा एमालेकै प्रतिनिधि हुनुहुन्थ्यो ।’ यहाँका नेताहरुले ठूलठूला आन्दोलनमा नेतृत्व गरेका र जनताहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका उनको भनाइ छ ।

प्रदेश नम्बर २ मा अन्यत्र भन्दा कम बजेट नआएपनि यहाँका नेताहरुले जनताको विकास भन्दा पनि आफ्नो विकास गर्न अग्रसर देखिएको कारण यहाँको विकास कार्य अवरोध भएको उनले बताए ।

त्यस्तै यस ठाउँको विकास चेतनाको कमीले र मधेशको नेतृत्वकर्ता नेताहरुको कारण विकास पछाडि परेको बताए । उनले थप भनेका छन्, ‘अब नेकपा एमाले मजबुत बनेको छ । भर्खरै वीरगन्ज महानगरपालिकाका मेयरलगायत अन्य जनप्रतिनिधिहरु पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । यसबाट नेकपा एमाले झन बलियो पार्टी बनेको छ । हिजोसम्म कमजोर रहेको एमाले पार्टी सबैभन्दा प्रमुख र मजबुत पार्टी बनेको छ ।’

‘नेकपा एमाले देश विकासको लागि काम गर्ने, जनताको सुविधाका लागि काम गर्ने पार्टी हो । नेकपा एमालेकै सरकारले तराईको विकासमा उल्लेख्नीय योगदान पु¥याएको छ’, उनले भने, ‘बारा पर्साका नागरिकहरु टोर्नाडोबाट घरविहीन भएपछि केही दिनभित्रै घर निर्माण गरेर जनताहरुलाई हस्तान्तरण गरेको छ ।’

पार्टी प्रवेश कार्यक्रममा ५ हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरुले विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई अध्यक्ष ओलीले फूलमाला, अवीर टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV