२८ फाल्गुन २०७८, शनिबार

काठमाडौँ । सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ ।

देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा ९रुपन्देही० मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै मुलुकभित्र अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् ।

आगामी जेठ २ गते ९बुद्ध पूर्णिमा० देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न यो विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान हुँदैछ ।

जेठ २ गतेदेखि व्यावसायिक उडान सञ्चालन गरिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले झण्डै ७२ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध विमानस्थल सञ्चालनको तयारी गरिएको बताउनुभयो । गौतमबुद्ध विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए ३३० जहाजले परीक्षण उडान गर्ने निगमले जनाएको छ ।

नेपालमा विसं २००६ मा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक अर्को अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो ।

सन् १९४८ मा बीच बनाया नामक वायुयानलाई बेलायती नागिरक एच वेडलरलेले काठमाडौंको गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाई यातायातको सुरुआत भएको मानिन्छ ।

त्यसपछि सन् १९४९ मा पहिलोपटक काठमाडौँ गौचरणमा डकोटा–३ वायुयान अवतरण गरियो । विसं २००७ मा भारतको पटनाबाट इण्डियन नेशनल एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो ।

ठूलो अत्याधुनिक विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताउनुभयो ।

उहाँले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि महत्वपूर्ण परियोजना भएको बताउनुभयो ।
कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । यो विमानस्थल अत्याधुनिक उपकरणयुक्त छ ।

मौसम खराबी भएको अवस्थामा काठमाडौँ विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ ।

नमूना आयोजना

गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको कामबीचमा निर्माण व्यवसायी कम्पनीको लापर्बाहीले अवरोध भएको थियो ।

पछिल्लो पटक सन् २०२० को मार्च महिनाभित्र निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आउन लागेको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी करिब रु २२ अर्ब खर्च हुने प्राधिकरणले जनाएको छ ।

पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताउनुभयो ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV