२७ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कर्णाली प्रदेशमा शुक्रबार ढुंगा मुढा प्रहार भएको भन्ने समाचार अनर्गल र गलत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरी कार्यालयले सूचना जारी गर्दै अध्यक्ष प्रचण्डमाथि ढुंगा मुढा प्रहार भएको भन्ने समाचार अनर्गल र तथ्यहीन रुपमा प्रचार गर्न खोजिएको भनेको छ ।

सूचनामा भनिएको छ, ‘आज मिति २०७८साल फागुन २७ गतेको दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्ड नेक.पा.माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आयोजनामा सन्चालित राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्न सुर्खेत आउनुभएकोमा हाल सामाजिक सञ्जालमा उहाँमाथी ढुङ्‍गा मुढा प्रहार भएको भनि समाचार तथा सूचना केही व्यक्ति तथा मिडिया ले अनर्गल तथा आधारहिन रुपमा सम्प्रेषण गरेको पाईएकोले यसमा कुनै पनि सत्यता नभएको ब्यहोरा अनुरोध गरिन्छ ।’

प्रहरी कार्यालयले झुठा र भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई विद्युतिय ऐन, २०६३ बमोजिम कारबाही गरिने पनि सूचनामा भनेको छ । ‘साथै यस प्रकारका झुठा भ्रमपुर्ण र शान्तिसुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचना हरु सम्प्रेषण गरिएको पाईएमा विद्युतिय कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV