२७ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हाँसिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले अहिले पार्टी सम्पूर्ण रुपमा स्थानीय तहको निर्वाचनको लागि तयारीमा होमिएको पनि बताए ।

उनले पाँच वर्षको अवधिमा पार्टीले निकै कुरा गुमाएको भन्दै अव राप्रपा नेपाल शसक्त रुपमा अघि बढ्ने स्पष्ट पारे । विगतका त्रुटीहरुप्रति जनतासँग क्षमा याचना गर्दै अव गल्ती नगर्ने प्रतिबद्धता जनाएको भन्दै उनले पार्टीका एजेण्डलाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरे ।

अध्यक्ष थापाले वर्तमान सरकारको फितलो र अदुरदर्शी नीतिले गर्दा नेपालको छिमेकी राष्ट्रसँगको सम्बन्ध सौहार्दपूर्ण हुन नसकेको टिप्पणी गरे । प्रमुख दलहरुको अदूरदर्शीता र सत्ता लोलुपताको कारण देशमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भैरहेको उनले बताए ।

त्यस्तै उनले प्रमुख दलले राज्य संयन्त्रमा कब्जा गरेर आफ्नो पार्टीको स्वार्थलाई सिद्ध गर्नको लागि प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानलाई पटक–पटक आघात पुर्याएको पनि धारणा राखे । थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्ध रुपमा धर्म परिवर्तन भैरहेको पनि आरोप लगाए ।

राप्रपा नेपालले महिला, आदिवासी, जनजाति, थारु, अल्पसंख्यक समूदायको हितलाई उच्च प्राथमिकतामा राखेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV