२७ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्नका र्‍यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनिकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरि आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको भन्दै यस सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न टास्क फोर्स गठन गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषदले फोहरमैला सम्बन्धी कानूनको मस्यौदा तयार गर्न सहमति प्रदान गरेको छ, भने नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै पत्रकार दुर्घटना बीमा निर्देशिका स्वीकृत गर्ने, बन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका स्वीकृत गर्ने र औधोगिक व्यवसाय नियमावली स्वीकृत गर्ने तथा सार्वजनिक खरिद ११ औं संशोधन पनि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै उनले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई संयुक्त अरब इमिरेट्स, सेशेल्स र कतारको भ्रमण गर्न स्वीकृति दिने निर्णय पनि भएको बताए ।

मन्त्रिपरिषदले तुलसीपुर उपमहानगरपालीका र स्पेनको विलवाओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायर्म गर्न स्वीकृत प्रदान गरेको छ, भने बीउ विजनको किसिम वा जात सूचित गर्ने प्रयोजनार्थ राष्ट्रिय बीउ विजन समितिबाट सिफारिस भइ आएबमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV