२७ फाल्गुन २०७८, शुक्रबार

काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रता पाएपछि छाडापन पनि बढेको बताएका छन् ।
स्वतन्त्रताको नाममा नेपालमा पछिल्लो समय बढी नै छाडापन बढेको उनले बताए ।

आज (शुक्रबार) पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनको उद्घाटन पश्चात् सम्बोधन गदै ओलीले भने, ‘स्वतन्त्रता पाएपछिहामी आवश्यकता भन्दा बढी अनियन्त्रित र छाडा भएका छौँ । स्वतन्त्रताको सही सदुपयोग गर्न नसक्ने स्थिति देखिएको छ । आम सञ्चारका माध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन बढेको छ । अबको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ ।’

उनले प्रेस स्वतन्त्रता आवश्यक रहेको तर नियन्त्रित हुनु जरुरी रहेको पनि बताए । नेपालमा अहिलेसम्म कुनै पनि शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको बताउँदै ओलीले प्रेस स्वतन्त्रताको लामो इतिहास नरहेको बताए । राणकालमा किताब लेखेकै भरमा जेल जानुपर्ने र लाइब्रेरी खोल्दा कारबाही भोग्नुपर्ने अवस्था रहेको स्मरण गराउँदै ओलीले भने, ‘२००७ सालपछि मात्र बल्ल प्रेस स्वतन्ततासम्बन्धी चेत पलाएको हो । तर २०४६ सालपछि मात्रै प्रेस स्वतन्त्रताको उपभोग राम्रोसँग गर्न पाइयो ।’

प्रेस स्वतन्त्रता मानव अधिकारकै विषय रहेको बताउँदै तर यसको सदुपयोग हुनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV