२५ फाल्गुन २०७८, बुधबार
  • दान बहादुर बुढा,

मुगु । जिल्ला नापी कार्यालय मुगुले डिजिटल प्रविधिबाट सेवाग्राहीलाई सेवा दिन थालेको छ । विश्वनै डिजिटल प्रविधिबाट चलिरहेको अवस्थामा मुगु नापी कार्यालयले पनि बुधबार (आज)बाट डिजिटल प्रविधिमार्फत् सेवा सञ्चालन सुरु गरेको हो ।

विगतका दिनमा नापी कार्यालय मुगुले ढढ्डा, लेजर, कित्ताकाट, टेड नक्सा, ब्लूप्रिन्टलगायतका सेवा झन्झटिलो तरिकाले दिदै आएको थियो । नापी कार्यालय मुगुकी कार्यालय प्रमुख विनिता शाहीले भनिन्, ‘पहिले यस कार्यालयबाट दिइने सेवा म्यानुअल सिस्टमबाट दिँदै आएका थियौँ । म्यानुअल सिस्टमबाट सेवाग्राहीलाई सेवा दिदा निकै समय लाग्थ्यो ।’

उनले थप भनिन्, ‘सेवाग्राहीहरु गाउँ–गाउँबाट एक–दुई दिन हिँडेर जिल्लामा आएर सेवा लिन्छन् । कार्यालयमा काम गर्न ढिलो हुन्थ्यो । कार्यालयमा आएका सेवाग्राहीलाई सहज होस्, दुःख नहोस् भन्ने हिसाबले ट्रेड नक्सा, ब्लू प्रिन्ट नक्सा, कित्ताकाट, कित्ता एकीकरणलगायतका सेवा डिजिटल प्रविधिबाट दिन थालिएको हो ।’

त्यस्तै प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जिल्लामै पहिलो पटक नापी कार्यालयले डिजिटल प्रविधिबाट सेवा दिन थालेकोमा कार्यालय परिवारलाई धन्यवाद दिए । साथै अन्य सरकारी कार्यालयहरुलाई पनि डिजिटल प्रविधिबाट सेवाग्राहीहरुलाई सेवा दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV