२५ फाल्गुन २०७८, बुधबार
  • ज्योती कुमार पन्थी,

बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–९ खैरेनीमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । मंगलबार राति बारबर्दिया नगरपालिका–९ खैरेनी बस्ने सानु चौधरीको घरमा आगलागी हुँदा जलेर उनका छोराको मृत्यु भएको हो ।

टिनले छाएको दुई कोठे कच्ची घरमा अचानक आगलागी हुँदा घरभित्र सुतिरहेको अवस्थामा १४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

अचानक आगलागी भएको भनी खबर प्राप्त हुनासाथ १० मिनेटभित्र प्रहरी चौकी कतर्नियाघाट तथा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट प्रहरी टोली उक्त स्थानमा पुगी स्थानीयबासी र दमकलद्वारा उक्त आगो लगभग १ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताए ।

आगलागीबाट मृत्यु भएका चौधरीको शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको छ, भने घटनालगत्तै बारबर्दिया नगरपालिकाका नगर प्रमुखसहितको टोलीले घटनाको विषयमा जानकारी लिँदै आगलागीबाट नष्ट भएको घरको पुनःर्निर्माण नगरपालिकाले गरिदिने आश्वासन दिएको छ ।

साथै तत्कालका लागि आगलागीबाट नष्ट भएको दैनिक गुजारा गर्ने सामग्री समेत नगरपालिकाले ब्यवस्था गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV