२५ फाल्गुन २०७८, बुधबार
  • श्यामशितल परियार,

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–९ सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष सुशील बैद्यको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस क्षेत्रमा बुधबार विहान ६ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

मंगलबार सिउँडीबारमा रहेको फ्युचर स्टार आवासीय माविको कक्षा १० मा अध्ययनरत छात्र वर्ष १८ का सनिज श्रेष्ठको मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको अवस्थालाई मध्यनजर गरी सुन्दरबजार नगरपालिका–७ पूर्व दक्षिणमा अवस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासबाट पाउँदीतर्फ आउने मस्र्याङ्दी पुल, पश्चिमतर्फ सुन्दरबजार नगरपालिका–९ मा अवस्थित मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको आवास क्षेत्रको मूलगेट अगाडिको पक्की सडक र उत्तरतर्फ सुन्दरबजार नगरपालिका–९ मा अवस्थित सिउँडीबार चोक समेत गरी चार किल्ला भित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिए ।

उनका अनुसार ती क्षेत्रमा सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था कडाइ गरिएको छ । ती क्षेत्रमा जुलुस, भेला र मानिसहरुको भीडभाड गर्न रोक लगाइएको छ । छात्रको मृत्युको विषयलाई लिएर मंगलबार विद्यालयमा विद्यालयमा ताडफोड समेत भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक रेग्मीका अनुसार निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाइने, निषेधित क्षेत्रभित्र रहेका विद्यालय, कलेज, सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजिनक तथा निजी यातायात सञ्चालनमा रोक लगाइएको छ ।

तर अति आवश्यक काममा प्रयोग हुने दमकल, एम्बुलेन्स, शव बाहन, सरसफाइ, दूग्ध, खाद्यान्न, दानाका सवारी साधन भने सञ्चालन गर्न पाइने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV