
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा ‘रुस–युक्रेन युद्धः महिला र बालबालिका सङ्कटमा’ विषयक विचार गोष्ठी गरिएको छ ।
कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले शान्ति समाजले विश्व शान्तिका लागि निर्वाह गरेको योगदान विशिष्ट रहेको बताउँदै महिला सशक्तीकरणका लागि नारी स्वयम् अघि बढ्नुपर्नेमा जोड दिइन् ।
सांसद सरिता न्यौपानेले जुनसुकै युद्धमा महिला अधिकार हननले सीमा नाघ्ने गरेको बताउनुहुँदै युद्धको सम्भावना अन्त्यतर्फ नेपालको भूमिबाट समेत विशेष योगदान हुनुपर्ने चर्चा गरिन् ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, सेलिब्रेसन कोएड विद्यालयका प्राचार्य महेन्द्र भट्टराई, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका–८ का अध्यक्ष मनोज ढुङ्गाना, शान्ति समाजका उपसभापति कृष्णबहादुर रावल, महासचिव रामकृष्ण बरालले रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति समाजले नेपाली भूमिबाट गरेको शािन्तका लागि अपरिहार्य रहेको बताए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका वडा नं ५ र ६ अध्यक्षद्वय नारायण सुवेदी र रमेश अर्याललगायतका विभिन्न सङ्घसंस्थाबाट महिलाको उपस्थिति रहेको थियो । शान्ति समाज काठमाडौँ शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सङ्गीता ढुङ्गाना दाहालले युद्ध अन्त्यको आह्वानसहित कविता वाचन गरेकी थिइन् । रासस