२४ फाल्गुन २०७८, मंगलवार
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा) । आज मार्च ८ अर्थात ११२ औँ अन्तराष्ट्रिय नारी दिवस ! यो दिवस आजको दिन देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जमिन तथा उत्पादनका साधनमा महिलाको समान स्वामित्व, उत्पादनमा बराबरी सहभागिता र उपभोगमा बराबरीको ग्यारेन्टी भन्ने धारणाका साथ प्रत्येक वर्ष विश्वभर नारी दिवस मनाउन लागिएको हो ।

अन्तर्राष्ट्रिय नारी दिवस के हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ? यो कसरी विश्वभर मनाउन लागिएको हो भन्ने कुरा कौतुहलताको विषय बनेको छ । महिला मुक्तिको लागि नारीहरुले गरेको संघर्षको सम्झनामा हरेक वर्ष मार्च ८ तारेखका दिन अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाउँदै आइएको छ । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाहरुको दोस्रो अन्तराष्ट्रिय सम्मेलनपछि यो दिवस मनाउन थालिएको हो ।

यसै क्रममा वीरगन्जको विभिन्न ठाउँमा महिला अधिकार सम्बन्धि काम गर्दै आएका संघ संस्थाहरुले नारी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । आमा नेपाल फाउण्डेशनले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शान्ति पद यात्राको आयोजना गरेको छ । यसैगरि ‘महिला हिंसा अन्त्य गर’ भन्ने नारा सहित नारी दिवसको अवसरमा वीरगन्ज युवा समाजले वीरगन्ज स्थित कारागारका महिला कैदीबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । त्यसैगरि वीरगन्ज महानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले पनि नारी दिवसको अवसरमा भव्य ¥याली निकालेको छ । यस्ता एक दर्जन भन्दा बढि संघ संँस्थाहरुले नारी दिवसको अवसरमा विविध कार्यक्रमहरु गरि मनाइ रहेको छ ।

आधा आकाश ढाकेका नारी जातिहरुका लागि नारी दिवस अत्यन्त महत्वपूर्ण दिन हो । नारीहरुको हक अधिकार स्थापित गर्न सामाजिक, आर्थिक, शैक्षिक राजनितिक, दृष्टिकोणले सबै तहमा नारीको बाहुल्यतालाई अगाडि बढाएर लैजानको लागि पनि यो दिवसले इटा थप्ने काम गर्दछ । अन्याय, अत्याचारमा फसेका शोषण र दमनमा परेका महिला मुक्तिका लागि आवाज बुलन्द गर्ने यो ऐतिहासिक दिवस नेपालमा वि.सं. १९७५ देखि मनाउन थालिएको हो । तर पछिल्लो समय नेपालका धेरै महिलाहरु सार्वजनिक क्षेत्रमा प्रवेशसँगै रोजगारीको अधिकार सुनिश्चित हुनुपर्ने, मताधिकारको व्यवस्था हुनुपर्ने जस्ता विषयहरुमा केन्द्रित हुन थालेका छन् र बहसहरु पनि दिनदिनै चलिरहेका छन् ।

नेपालको सन्दर्भमा नारीहरुको जनसंख्याको तथ्यांक हेर्ने हो भने ५१.५ प्रतिशत महिला छन् भने ४८.५ प्रतिशत पुरुष रहेका छन् । यहाँनेर पुरुषभन्दा नारीको संख्या ८ लाखले बढी छ । तर पनि महिलाहरु पछि परिरहेको अवस्था छ । त्यसैले महिलाहरुलाई अब मानसिक रुपमा नै नेतृत्वतिर लैजानु आवश्यक छ । हुन त नेपालको संविधान २०७२ ले पनि महिला हक अधिकारको कुरालाई जोडतोडका साथ सुनिश्चित गरेको छ । तर महिलाहरुले यो सम्बन्धि अधिकारको पूर्ण कार्यान्वयनको चरणमा पुग्न सकिरहेका छैनन् ।

यो भनिरहँदासम्म देश तथा विदेशमा कैयौँ महिलाहरु घरेलु हिंसाको सिकार भइरहेका छन् । दमन र शोषण अनि बेचबिखनका रुपमा देशका कुना काप्चाहरुमा अवैधरुपमा बस्न बाध्य छन् । महिलाका हक अधिकारका लागि कति संघसंस्थाहरु दिनरात नभनी खटिरहेको छ । तर पनि महिला अधिकारका कुराहरु केही मात्रामा सहज भए तापनि मुख्य जालो अझै हट्न सकेको छैन । जसले गर्दा अधिकांश महिलाहरु आफ्नो जीवनलाई त्यति अगाडि बढाउन सकेका छैनन् । महिलाहरु राज्यका मुख्य तहमा नपुगेका पनि होइन तर महिलामैत्री वातावरण र चेतना कतिपय देशमा पुग्न नसक्दा महिलाहरु ओझेलमा परेका छन् ।

यहाँसम्म कि तराईका ग्रामीण भेगका महिलाहरु अझै पनि शोषित पीडित छन् । उनीहरुको लागि नारी दिवसले छुन सकेको छैन । नारी दिवसको अवसरमा सदरमुकाममा विविध कार्यक्रमहरु गरिन्छ, लाखौं करौडौ बजेट सक्याइन्छ तर ति घुँघटमा रहेका महिलाहरुले अझैसम्म आफ्नो हक, अधिकार, समानता केही बुझ्न सकेका छैनन् । न त उनीहरुलाई कसैले बुझाउने प्रयास गरेको छ । उनीहरुको जीवन भनेकै घरभित्रै आफ्नो सन्तान सहित परिवारहरुलाई स्यहार सुसारमै वित्नुपर्ने हो भन्ने मनसाय छ ।

सदरमुकाममा तीन तारे होटलहरुमा कार्यक्रम गरि नारी हक अधिकारको ठूलठूला भाषण गरिन्छ । तर त्यही भाषणलाई कसैले पालना गर्दैनन् । जसले ठूलठूला भाषण गर्छ, यसैको घरमा महिला हिंसाको शिकार बनेको हुन्छ, यस्ता थुप्रै उदाहारणहरु छन् । नारी दिवसलाई ठूलठूला नारा दिएर, एक दिन मात्रै दिवस मनाएर महिलाहरुको अधिकार पुरा हुँदैन । महिलाहरु शोषणबाट उन्मुक्ति पाउँदैनन् । त्यसैले नारी दिवसलाई एक दिन मनाएर होइन, तिनीहरुको हक अधिकार दिएर, महिला हिंसा न्यूनीकरण गर्नमा सहयोग गरे मात्रै यो दिवसको औचित्य पुरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV