२४ फाल्गुन २०७८, मंगलवार
  • अनमोल कार्की

रौतहट । नेपाली कांग्रेस रौतहटको सभापति पदमा सुनिल यादव ( जितेन्द्र ) विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मत परिणाममा सुनिलले अर्का उम्मेदवार हृदय नारायाण यादवलाई २ सय ९८ मतले पराजित गरेका हुन् ।

सुनिलले १ हजार ३६२ मत ल्याउँदा हृदयनारायण १ हजार ६४ मतमा चित्त बुझाउनु परेको थियो । संविधान सभा सदस्य समेत रहेका सुनिल संस्थापन पक्षका उम्मेदवार हुन् । नव निर्वाचित सभापति सुनिलले आफ्नो जित समग्र नेपाली कांग्रेसको जित भएको भन्दै चुनावी प्रतिष्पर्धालाई बिर्सिएर सबैलाई एकढिक्का बनाएर रौतहटलाई नेपाली कांग्रेसको किल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदैं आउँदो स्थानिय तहको निर्वाचनमा जिल्लाको १८ वटै पालिकामा नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा दिलो ज्यान दिएर लाग्न आग्रह गरे ।

त्यसैगरी उपसभापति पदमा सुनिल यादवकै प्यानलका धिरेन्द्र कुमार सिह र रामलोचन प्रसाद कलवार विजयी भएका छन् । सिंहले १ हजार २८७ मत र कलवारले १ हजार ३८३ मत प्राप्त गरेका छन् । यसैगरी सचिव पदमा १ हजार ३०९ मत ल्याएर राजेश कुमार चौधरी र १ हजार १४२ मत ल्याएर रामचन्द्र गिरी विजयी भएका छन् ।

चौधरी सुनिलको प्यानलबाट र गिरी हृदयनारायण प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए । यता सहसचिव पदमा सुनिल यादव प्यानलबाटै मो. फिरोज आलम र सिकेन्द्र प्रसाद पटेल विजयी भएका छन् । आलमले १ हजार ३८३ र पटेलले १ हजार २४१ मत ल्याउन सफल भएका थिए ।

सुनिल यादवको विजयले रौतहटमा नेपाली कांग्रेसमा नयाँ उत्साह आएको र अब यो उत्साह चुनावी परिणाममा देखिने नेपाली कांग्रेस मधेस प्रदेश सदस्य नितेस कुमार गुप्ताले प्रतिक्रिया दिए । उनले नेपाली कांग्रेसले युवा नेतृत्व पाएको निकै खुसी लागेको भन्दै अब सबै एकजुट भएर नेपाली कांग्रेसलाई जिल्लामा पहिलो नम्बरको पार्टी बनाउन सबै ऐक्यवद्ध बनाएर लाग्नुपर्नेमा जोड दिए ।

शनिबारको लागि तय गरिएको निर्वाचन आन्तरिक विवादको कारण स्थगित भएपछि सोमबार जिल्ला सदरमुकाम गौर स्थित जुद्द मा. वि. मा नेतृत्व चयनको लागि निर्वाचन भएको थियो । पदाधिकारीको मतगणना पश्चात अब जिल्ला सदस्यहरुको मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV