२४ फाल्गुन २०७८, मंगलवार
  • रजिता दोङ तामाङ

चारैतिर हेर
छरपस्ट छन् मेरा अधुरा सपनाहरु

शोषणको जरा उखेल्ने सपना बोक्दा बोक्दै
आफै शोषित हुन पुगेँछु

रक्षक बनेर
देशको रक्षा गर्ने सपना उन्दाउन्दै
आफै असुरक्षित हुन पुगेँछु

डाक्टर बनेर
सेवा गर्ने सपना बुन्दाबुन्दै
आफै रोगी भएर ढलेकी छु

पाइलट बनेर
आकाश माथि-माथि उड्ने
रहर बुन्दाबुन्दै
गरिबीको पैतालामुनि दबिन पुगेँछु ।

पितृसत्ता तोड्ने
योद्धा भन्छु भन्दाभन्दै
आफैँ पितृसताको दास हुन पुगेँछु ।

हेर कति छरपस्ट छन् मेरा अधुरा सपनाहरु
तर
आकाशजस्तो यो फराकिलो दिलमा अझै
अनगिन्ती सपनाहरु चम्किएकै छन्

म अब झुक्दिनँ
चट्याङझैँ गर्जिन चाहन्छु
भूकम्प बन्न चाहन्छु
अनि ध्वस्त पार्न चाहन्छु
विभेदकारी पितृसत्तालाई ।

पहिरो बनेर
बगाइदिन चाहन्छु
बदनियत भएका पुरुषको घमण्डलाई ।

डरले शक्ति विनाश गर्दोरहेछ
त्यसैले अब
डर होइन हिम्मत बटुल्छु
अनि पितृसत्तासँग
आँखामा आँखा जुधाउँछु ।
०००

प्रतिक्रिया दिनुहोस्
LIVE TV