२३ फाल्गुन २०७८, सोमबार
  • प्रमिल पौडेल

ए साथी पर्ख,
ए साथी विचार गर

तिमीले डोजर चलाएको ठाउँ
मेरो सभ्यताको नाभी हो
मेरा पुर्खाको अस्तु त्यहीँ कतै छ
मैले दु:खहरु त्यहीँ बगाएको हुँ
तिमीलाई विश्वास लागेन भने
किनारको ‘पत्थर’ फोर्नु
र सुमसुम्याउनु
मेरो अस्तित्वको ‘फोसिल’।

म त्यही किनारमा,
बजिरहने लहरको झङ्कारमा हुर्केको हुँ
मैले ‘खुट्टे’ खेल्ने ढुंगा त्यहीँ छन्
म हिँडेको हरियो कार्पेट
त्यही किनारको लयले सिञ्चित हो
मेरो ‘मुक्ति’को प्रार्थना
कालीकै छालहरुमा वयली खेलिरहेको छ

ए साथी पर्ख,
ए साथी विचार गर

डोलो पार्दै मेरा ओठ
दर्दहरु सुसेली हाल्न, त्यहीँ सिकेको हु
अञ्जुली बनाएर मेरा हत्केला
सम्झनाहरुको अस्तु, त्यहीँ बगाएको छु
देहको पहिलो लौकिक स्नान
‘काली’को पवित्र जलले गरेको हुँ

दलानको एउटा कुनामा
‘मिरिन्डा’को बोत्तल
कालीको पानी बोकेर बसेको छ
र मलाई सम्झाइरहन्छ
भूगोलको त्यो अत्यासलाग्दो गहिराइ
मैले पैताला चलाउन सिकेको
मुक्तिको ‘युनिकर्न’ बाटो
भत्काउने
तिमीलाई कुनै अधिकार छैन ।
***

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV