२२ फाल्गुन २०७८, आईतवार
  • तारा आचार्य,

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा कच्चापर्दाथको अत्याधिक मूल्य बृद्धिका कारण नेपालमा दैनिक उपभोग्य बस्तुलगायत निर्माण सामग्रीको मूल्य बढेको विराटनगरका उद्योगी व्यवसायीहरुले बताएका छन् ।

आइतबार मोरङ व्यापारसंघले पत्रकार सम्मेलन गरी रसिया र युक्रेनबीचको युद्धका कारण बाह्य मुलुकबाट आउने हरेक सामग्रीको मूल्य बढेको बताउँदै आफूहरुका कारण मूल्य बृद्धि नभएको बताएका छन् ।

यसका साथै उनीहरुले मूल्य बृद्धि नियन्त्रण गर्न सरकारलाई १० बुँदे सुझावसमेत दिएका छन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाले अहिले बढिरहेको मूल्य बृद्धि नियन्त्रण गर्न सरकारको ठूलो भूमिका रहने बताए ।

उनले पेट्रोलियम पदार्थलगायत अन्य वस्तुहरुको मूल्यबृद्धि नियन्त्रण गर्न बजेट भाषणमार्फत् भन्सार महसुल निर्धारण गर्ने भन्दापनि यसको अवस्था हेरेर भन्सार महसुल घटबढ गराउन सकिने व्यवस्था गर्नुपर्ने, पेट्रोलियम पदार्थमा लाग्नु भन्सार कर घटाउनु पर्ने, त्यस्तै आइपर्ने संकट समाधानका लागि खाद्य वस्तुको स्टक पर्याप्त मात्रामा राख्नुपर्ने बताए ।

उद्योगीहरुले उत्तपादन मुलुक उद्योग सञ्चालनका लागि लगानी सहज बनाउनुपर्ने, बैंकहरुलाई व्याजदर घटाउन समेत आग्रह गरेका छन् । यसका साथै उनीहरुले यही अवस्था रहिरहे भोलिका दिनमा मानिससँग पैसा भएपनि सामान भने नपाउने अवस्था सिर्जना हुने भएकाले त्यसतर्फ सयममै सरकारको ध्यान जानुपर्ने बताए ।

सो सम्मेलनमा पूर्व अध्यक्षहरुले उद्योगीहरुको समस्याप्रति राष्ट्रबैंक र सरकार गम्भीर नभएको आरोप समेत लगाएका छन् । उनीहरुले अन्तर्राष्ट्रिय बजार नै महँगीको मारमा परेको बेला नेपाललाई कसरी जोगाउन सकिन्छ ? भनेर सरकारको ध्यान जानु जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV