२२ फाल्गुन २०७८, आईतवार
  • युवराज आचार्य,

झापा । नेपाल पुलिस क्लबलाई पराजित गर्दै संकटा युवा क्लब काठमाडौं झापाको विर्तामोडमा जारी पाँचौँ झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले आफ्नो क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो ।

अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए ।

पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रमक बने पनि स्कोर भने संकटाले मात्र गर्न सफल भयो ।

आइतबारको खेलको प्लेयर अफ द म्याच विजेता टिम संकटाका फोडे फोफोना घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । पाँचौँ संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजक चौधरी ग्रुपको नेपाल आइस हो ।

प्रतियोगिताअन्तर्गत सोमबारको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए । एपीएफ सोझै क्वार्टर फाइनलमा पुगेको हो । सातदोबाटोले जावलाखेललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV