२२ फाल्गुन २०७८, आईतवार

काठमाडौं । कानून मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी गरेका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले महाभियोग समितिमा सदस्य पठाएर एमालेले संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद अवरोध पनि हट्ने दाबी गरेका हुन् ।

त्यस्तै उनले एमालेले लामो समयदेखि संसद अवरोध गरिरहँदा यसको संसदको औचित्यमाथि जनताबाट प्रश्न उठ्ने अवस्था बनेकाले अर्ली इलेक्सनको कुरा उठेको जिकिर गरे । एमाले संसदीय प्रक्रियामा आयो भने संसद पूर्णकालसम्म नै चल्ने उनको भनाइ छ ।

त्यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अचानक अर्ली इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र हुनसक्ने बताए । उनले एमाले सदैब संसदीय प्रणालीमा विश्वास गर्ने भन्दै यसलाई स्थापीत गर्नका लागि सदनमा विरोध जनाएको जिकिर गरे ।

नेम्वाङले महाभियोगको प्रक्रियालाई ठीक ढंगले निष्कर्षमा पु¥याउन समितिमा नाम दिएको उल्लेख गरे । त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बैशाखमा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन सम्भव नरहेको स्पष्ट पारे ।

वैशाखमा स्थानीय तहकै चुनाव हुने अवस्थामा त्यसपछि लगत्तै अर्को चुनाव गर्न मौसमले पनि साथ नदिने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV