२२ फाल्गुन २०७८, आईतवार

काठमाडौँ । नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए ।

ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षणअनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदायस्तरमा सङ्क्रमण नरहेको पाइएको छ ।

समुदायमा सङ्क्रमण नभएका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, सप्तरी, सिरहा, उदयपुर, ओखलढुङ्गा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, पर्सा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी, तनहुँ, गोरखालगायतका जिल्ला छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ४८ जिल्लामा समुदायस्तरमा हात्तीपाइलेको सङ्क्रमण रोकिए पनि पाँच जिल्लामा भने समुदायस्तरमा फैलिइसकेको छ ।

ती जिल्लामा धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिन्धुली रहेका छन् । यी जिल्लामा समुदायस्तरको सङ्क्रमण एकपटक रोकिएर फेरि फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले रोगका फोकल पर्सन रामकुमार महतोले झापा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, कैलाली र बागलुङमा यसअघिदेखि नै समुदायस्तरमा हात्तीपाइले सङ्क्रमण यथावत् रहेको जानकारी गराउनुभयो ।

उहाँले यी १० जिल्लालाई लक्षित गर्दै फागुन २८ देखि हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवन कार्य सुरु गरिने बताउनुभयो । १० जिल्लामा फागुन २८ देखि नै अभियान सुरु हुनेछ ।

उहाँले रोग निवारणका लागि औषधि सेवन गर्नैपर्छ भन्दै यस विषयमा स्वास्थ्यकर्मीमात्र नभई, सञ्चार क्षेत्र र राजनीति क्षेत्रका मानिसले पनि सचेतना फैलाउन सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV