२१ फाल्गुन २०७८, शनिबार

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ९२१ जना सङ्क्रमित भएका छन् ।

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ६३ हजार ८७८ पुगेको अधिकारीहरूले जनाएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ११ हजार ६५१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ७८ हजार ७२१ पुगेको छ ।

कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १४ हजार ८७८ जनाको मृत्यु भएको छ । ती मध्ये २८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

गत शुक्रबार एक दिनमा भारतमा नौ लाख ४० हजार ९०५ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV