२० फाल्गुन २०७८, शुक्रबार
  • दान बहादुर बुढा

मुगु । विष्णुकुमार भाम मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–४ का वडाध्यक्ष हुन् । २०७४ मा वडाध्यक्षमा निर्वाचित भएका उनको कार्यकाल ५ वर्ष पूरा भइक्न लागेकाे छ । वडामा ‘मनकारी वडाध्यक्ष’का रुपमा छाप बनाएका उनले निर्वाचित भएदेखि हालसम्म राज्यबाट पाएको आर्थिक रकम स्थानीय बासिन्दाका लागि सुम्पिदिए ।

वडामा रहेर काम गरेबापत् राज्यबाट पाएको सबै रकम उनले नगरपालिकाभित्रका गरिब, दुःखी, पिछडिएका वर्गलाई सुम्पिदिएका हुन् । शुक्रबार एक कार्यक्रम गरी वडाध्यक्ष भामले पाँच वर्षभर पाएको सबै रकम दुःखी र गरिबका लागि सुम्पिएको सार्वजनिक गरिएको हो ।

देशमा भ्रष्टाचारको बिगबिग चलिरहँदा वडाध्यक्ष भामले तलब, भत्ता, बैठक भत्ता सबै गरि जति कमाए सबै दुःखीका लागि सुम्पेर उदाहरणी काम गरेका छन् । वडाध्यक्ष भामले ५ वर्ष सरकारी सेवाबाट पाएको ११ लाख ५२ हजार ५ सय २५ रुपैयाँ नगरपालिकाभित्रका वडा १ देखि १४ सम्मका दुःखी, गरिब, दलित,असहाय,अपांग, गरिब तर जेहेन्दार विद्यार्थी, अग्निपीडितलगायलाई सहयोग गरेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष भामले घरमा खाद्यान्न अभाव भएकाहरुलाई खाद्यान्न जोहो गरिदिएका छन् । यस्तै, गरिब, दलितलगायतका विद्यार्थीहरुका लागि कापी, कलम, झोला, ड्टपेन उनले किनिदिएका छन् ।

जाडोमा कठ्यांग्रिएका वृद्धवृद्धाहरुका लागि न्यानो कपडा, राडीपाखी र कम्मल पनि उनले किनिदिएका छन् । समाजको हरेक काममा दत्तचित्त भई लागिपर्ने वडाध्यक्ष भामले पूर्वधारतर्फ गोरेटो बाटो, खानेपानीमा नमूना काम गरेका छन् ।

कोरोना महामारीमा हेल्थ डेस्कदेखि विरामीलाई राहत वितरणमा वडाध्यक्षले अतुलनीय भूमिका निर्वाह गरे । नगरपालिकामा कान्छा उम्मेदवार भएर विजयी भएका भममा समाजसेवाबाहेक कुनै सपना छैन । समाजसेवामा सबै समय खर्चिएका उनलाई सलाम ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV