२० फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । नेपालमा पनि ट्रान्सक्याथेटर इरोटिक भल्ब इम्प्लामेन्टसन (टीएभीआई) विधिबाट मुटुको भल्ब प्रत्यारोपण सुरु भएको छ । शहीद गंगालाल हृद्धय रोग केन्द्रमा शल्यक्रिया नगरिकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा.चन्द्रमणी अधिकारीले जानकारी दिए ।

उक्त पद्धतिबारे जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अधिकारीले नेपालमै पहिलो पटक फागुन १६ गते ८० वर्षीया महिलाको टीएभीआई विधिबाट सफल उपचार गरिएको बताए । उक्त उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरबाट मानव निर्मित भल्ब मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिने उनले बताए ।

बिरामीलाई बेहोस् गरि छाती र मुटु चिरी शल्यक्रिया गर्न नपर्ने भएकाले जटिलता न्यून रहने बताउँदै शल्यक्रियाको तुलनामा यस उपचार पद्धति प्रभावकारी र यसमा मृत्युदर कम हुने अध्ययनले देखाएको उनको भनाइ छ ।

यो विधिबाट पहिलोपटक सन् २००२ मा फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट नियमित रुपमा उपचार हुँदै आएपनि नेपालमा यो प्रविधि भित्रिएको थिएन । स्थापनाकालमा ९ शैयाबाट सेवा सुरु गरेको यस केन्द्रमा हाल २३९ शैंयासहित सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV