२० फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले देश पार्टी र व्यक्तिग स्वार्थभन्दा धेरै माथि भएको बताएका छन् । एमाले अछाम-काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै नेता रावलले सो कुरा बताएका हुन् ।

नेता रावलले आफूलाई ‘हिरो’ बन्न खोजेको एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको जफाव पनि दिए । अध्यक्ष ओली देशको पक्षमा बोलेर ‘महाहिरो’ भएको भए आफू खुशी हुने उनले बताए ।

एमसिसीबारे धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले रावल ‘हिरो’ बन्न खोजेको बताएका थिए । ओलीले भनेका थिए- ‘भीम रावल पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक ढंगले आफूलाई प्रस्तुत गरिरहनु भएको छ, आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने त्यस खालका कुरा, काम कारबाही त्यस खालको विचार र कुनै पनि बहानामा चाहे राष्ट्रवादको बहानामा पृथक देखिएर गरिने क्रियाकलाप पार्टीको अनुशासनभित्र पर्दैनन् ।’

ओलीको जवाफ दिँदै रावलले भने- ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया !’

प्रतिक्रिया दिनुहोस्
LIVE TV