१९ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । संयुक्त राष्ट्र संघको विशेष महासभामा नेपालले युक्रेनमाथि रुसको कारवाही रोक्ने पक्षमा मतदान गरेको छ ।

संयुक्त राष्ट्र संघले युक्रेनमाथि रुसी आक्रमण तत्काल रोक्न आह्वान गर्दै बोलाए विशेष महासभाको बैठकमा नेपालले युक्रेनको पक्षमा मत हालेको हो ।

राष्ट्र संघको ११औँ विशेष महासभा गएराति बोलाइएको थियो । महासभामा युक्रेनमाथि रुसले जारी राखेको कारबाही तत्काल रोक्ने प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको छ । उक्त मतसहित रुसको कारवाही रोक्ने प्रस्ताव पारित भएको छ।

कारवाही रोक्ने प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ देशले प्रस्तावको पक्षमा मतदान गरेका हुन्। महासभामा नेपालले भन्यो, ‘जुनसुकै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पक्षमा छ ।’

महासभामा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल वुद्धभूमि भएकाले शान्ति प्रेमी देश भएको भन्दै रुसले कारवाही रोक्नु पर्ने बताए ।

त्यस्तै युक्रेनको पक्षमा खुलेका मुलुकहरुले मान्यता प्राप्त सीमाभित्र युक्रेनी क्षेत्रबाट रुसको सैन्य बल तत्काल पूर्णरुपमा बिना शर्ता हटाउन माग गरेका छन् ।

प्रस्तावको विपक्ष अर्थात रुसको पक्षमा रुस, बेलारुस, उत्तर कोरिया, एरिट्रिया र सिरियाले मात्र मतदान गरेका छन्।

त्यस्तैगरी चीन, भारत, पाकिस्तान, दक्षिण अफ्रिका लगायत ३५ देश तटस्थ बसेका छन् । संयुक्त राष्ट् संघमा युक्रेनमाथि भइरहेको रुसको कारवाहीप्रति चिन्ता व्यक्त गरिएको थियो ।

संघका पदाधिकारीहरुले कारवाही तत्काल रोक्न १४१ मुलुकहरुले गरेको प्रस्तावले रुसको कारवाही रोक्न सहयोग गर्ने आशा व्यकत गरे ।

‘यो नतिजाले युक्रेनमा दुस्मनीको अन्त्य होस्, बन्दुक बन्द होस् र संवादका लागि कुटनीतिक दरबाजा खुला होस् भन्ने सन्देश दिएको छ,’ महासचिव एन्टिनियो गुटरेशले भने ।

हालसम्म राष्ट्रसंघको विशेष महासभा ११ पटक मात्रै बसेको छ । जसलाई शान्तिका लागि एकताका रुपमा लिने बैठकका रुपमा लिने गरिएको छ ।

जतिपनि मुलुकहरुले शानतिको पक्षमा मत हाले पनि सुरक्षा परिषदका ५ स्थायी सदस्यको एक मत नभई कारबाही नरोकिने राष्ट्र संघको नियममा उल्लेख छ ।

सुरक्षा परिषदका स्थायी सदस्य अमेरिका, बेलायत, रुस, फ्रान्स र चीनलाई भिटो प्रयोगको अधिकार छ। शान्तिका लागि प्रस्ताव बहुमतले पारित भपनि यी मुलुकहरुलाई भिटोको अधिकार छ । हालको अवस्थामा यी पाँच मुलुकको एक मत नभएसम्म रुसले युक्रेनबिरुद्ध कारवाही निरन्तर राख्न सक्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV