१८ फाल्गुन २०७८, बुधबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

पार्टीका महामन्त्री भुवन पाठकका अनुसार भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै, कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल हुनेछ ।

उक्त पार्टीले केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि हिजो नै पदाधिकारी बैठक बोलाएको थियो । देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत् स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम अघि बढाएको सो पार्टीले आसन्न स्थानीय तहको चुनावमा उम्मेदवारको छनोटको प्रक्रिया सुरु गरेको जनाएको छ ।

गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न भएपछि पार्टीले दोस्रोपटक केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे देशभर घरदैलो कार्यक्रम गरी आम नागरिकलाई सुसूचित गरिने नेता सुन्दर पाण्डेले बताए ।

पाँच प्रदेशस्तरीय विस्तारित बैठक भर्खरै सम्पन्न गरेको उक्त पार्टीले नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउनेलगायत विषयमा प्रशिक्षणसमेत प्रदान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV