१६ फाल्गुन २०७८, सोमबार

महोत्तरी । मिथिला अहिले महाशिवरात्रि पर्वको उल्लासमा छ । यहाँका शिवालयमा भक्तजनको चहलपहल ह्वात्तै बढेको छ । शिवालय सरसफाइ र महाशिवरात्रिको मङ्गल कामनासहित सोमबार शोभा कलशयात्रा आयोजना गरिएका छन् ।

महाशिवरात्रिको समापनसँगै मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी थालिएको देखिँदो छ ।

जलेश्वरस्थित जलेश्वरनाथ, भङ्गाहा–५ स्थित सिद्धनाथ, सोनमाको मगरथानास्थित मङ्गलनाथ र बर्दिबास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिर वरिपरि बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएका छन् ।

शिवालयमा आज एक हजार आठ कन्याले पवित्र नदीबाट नयाँ माटोका घडामा भरेर ल्याएका जलसेचन गर्नेछन् । सामान्यतया तीन दिन उत्सवमय मनाइने महाशिवरात्रि पर्वमा धार्मिक मेला आयोजना गरिएका छन् । जताततै शिव महिमाका भजन गुञ्जिएका छन् ।

महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै मिथिलामा १५ दिने माध्यमिकी परिक्रमा प्रारम्भ गरिन्छ । फागुन औँसीका दिन धनुषाको ठेराकचुरीस्थित श्री रामजानकी मठबाट अवधविहारी (श्रीराम) को प्रतिमा राखिएको डोला बोकेर निस्कने साधुसन्त र श्रद्धालु भक्तजनको भीडमा जनकपुरधामस्थित अग्निकुण्ड मठबाट किशोरीजी (सीताजी) को प्रतिमा राखिएको डोलाअघि लगाइन्छ ।

यो यात्रामा बाजागाजासाथ श्री जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र जनकपुरस्थित पवित्र तलाउहरु गङ्गासागर र धनुषसागरको प्रदिक्षण गर्दै धनुषाकै हनुमानगढीमा रात्रिबास गरिन्छ ।

यो बाससँगै मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्लपक्षभरि प्राचीन मिथिलाका विभिन्न तीर्थस्थलको परिक्रमा गरेर जनकपुर नै पुगेर टुङ्ग्याइन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV