१४ फाल्गुन २०७८, शनिबार

काठमाडौं । शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु–२’का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको छ । शनिबार नयाँ बानेश्वरबाट अभिनेता पल शाहको बारेमा सोधपुछ गर्नका लागि नियन्त्रणमा लिइएको निर्देशक थापालाई छाडिएको प्रहरीले जनाएको छ ।

अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहविरुद्ध १७ वर्षीया एक बालगायिकाले गत बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्ती करणीको मुद्धा दायर गरेपछि फरार रहेका छन् ।

उजुरी परेपछि अभिनेता पल शाहलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । प्रहरीका अनुसार फिल्म ‘म यस्तो गीत गाउँछु–२’ का निर्देशक थापालाई अभिनेता पल शाहको बारेमा सोधपुछ गर्न बोलाइएको थियो ।

एक टेलिभिजनमा अन्तर्वार्ता दिएर फर्कने क्रममा टेलिभिजन परिसरबाटै निर्देशक थापालाई नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार निर्देशक थापाले अहिले आफ्नो सम्पर्कमा अभिनेता पल नभएको बताएका थिए ।

LIVE TV