१२ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले एमसीसीमा भोटिङ भएपछि गठबन्धनमा माओवादी केन्द्र नबस्ने जवाफ कांग्रेसलाइ दिएको बताएका छन् ।

विहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद पोखरेलले आफूहरु एमसीसीको विपक्षमा रहेकाले यसमा भोटिङ भएपछि गठबन्धनमा नरहने कुरा प्रचण्डले प्रधानमन्त्रीलाई जानकारी गराएको बताएका हुन् ।

उनले एमसीसीका विषयमा सैद्धान्तिक छलफल गर्ने भनेपछि सरकारको आग्रहमा संसदको बैठक सारिएको जानकारी दिए । पोखरेलले एमसीसीमा सहमति खोज्ने बिषय सकारात्मक भएपनि आफुले ल्याएको प्रस्तावमा बहुमत नजुट्ने देखिएपछि बैठक सार्न खोजिएको जस्तो देखिएको धारणा राखे ।

त्यस्तै कांग्रेस नेता मीन विश्वकर्माले सत्ता गठबन्धनमा रहेका दलहरुले एमसीसीका विषयमा आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने बताए । उनले शुक्रबारसम्म माओवादी र नेकपा समाजवादीलाई एमसीसीका बिषयमा स्पष्ट धारणा राख्न भनिएको जानकारी दिए ।

उनले एमसीसीको महत्व कांग्रेसका साथै एमाले पनि बुझेको तर सत्तागठबन्धनका केही दलले बुझ्न नसकेको तर्क गरे ।

 

LIVE TV