११ फाल्गुन २०७८, बुधबार

सोल । दक्षिण कोरियामा ५-११ वर्षसम्मका बालबालिकाहरुलाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । देशको औषधि सुरक्षा सम्बन्धी निकायले उनीहरुलाई खोप लगाउन अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तिव्र रुपमा फैलिएपछि बालबालिकालाई सुरक्षित राख्नका लागि खोप लगाउने निर्णय गरिएको हो ।

१२ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि नै खोप लगाउन अनुमति दिइएको थियो । तीन हप्ताको अन्तरमा बालबालिकाहरुलाई दुई खोप दिइने भएको छ ।

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख ७१ हजार ४५२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

घट्यो जन्मदर

दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ ।

यो जन्मदर सन् १९७० पछिकै सबै भन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । जन्मदर क्रमश घट्दै गइरहेको तथ्याङ्कमा देखिएको छ ।

सन् १९८४ मा जन्मदर १.७४ भएकोमा सन् २०१८ मा ०.९४ प्रतिशत, सन् २०१९ मा ०.२९ प्रतिशत र २०२० मा ०.८४ प्रतिशत भएको थियो । सन् २०२१ भरीमा दक्षिण कोरियामा झण्डै दुई लाख ६० हजार ५०० बालबालिका जन्मिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

ढिलो विवाह गर्ने र थोरै सन्तान जन्माउने प्रवृत्ति बढ्दै गएकोले जन्मदर पनि घट्दै गइरहेको विश्लेषण गरिएको छ । त्यसैगरी बालबालिकाको हेरचाह गरेर बस्ने महिलाहरुको सङ्ख्या पनि कम भएको उनीहरुको भनाई छ ।

सन् २०२१ मा झण्डै एक लाख ९२ हजार ५०० विवाह भएका छन् । अघिल्लो बर्षको तुलनामा यो सङ्ख्या ९.८ प्रतिशत हो ।

 

LIVE TV