३ फाल्गुन २०७८, मंगलवार

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा बालविवाहको कहालीलाग्दो अवस्था रहेको तथ्य सार्वजनिक भएको छ ।

नगरपालिकाको विभिन्न वडामा ‘सेभ द चिल्ड्रेन’को सहयोगमा लैङ्गिक विभेद अन्त्य परियोजना सञ्चालन गर्दै आएको रतौली युवा क्लबले आज वडा नं ५ मा गरेको सर्वेक्षण सार्वजनिक गर्दा यस नगरपालिकाभित्र बाल विवाहको अवस्था कहालीलाग्दो रहेको बुझिएको छ ।

क्लबले सार्वजनिक गरेको सर्वेक्षणको नतिजाअनुसार वडा नं ५ मा आर्थिक वर्ष २०७८÷७९ को अहिलेसम्म ७० प्रतिशत बालिका र ४० प्रतिशत बालकको बालविवाह भएको लैङ्गिक विभेद अन्त्य परियोजनाका कार्यक्रम अधिकृत रञ्जना पोखरेलले बताए।

कार्यक्रम अधिकृत पोखरेलले वडा नं ५ मा गरिएको आकस्मिक सर्वेक्षणमा त्यहाँ त्यस्तो अवस्था देखिएको र अन्य वडामा पनि त्यस्तै र कुनै कुनै वडामा ८० प्रतिशत र ६० प्रतिशतसम्म बालविवाहको अवस्था रहेको बताए।

जलेश्वरमा भइरहेको बालविवाह, छुवाछूत, लैङ्गिक विभेद न्यूनीकरणका लागि क्लबले बाल क्लब, किशोरकिशोरी सञ्जाल, मेल च्याम्पिएनजस्ता सञ्जाल गठन गरेर जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार, भित्तेलेखनजस्ता कार्य गर्दै आएको छ ।

जलेश्वरको १२ वटै वडामा अझै पनि बालविवाह, भेदभाव, छुवाछूत, लैङ्गिक विभेदजस्ता कुरा यथावत रहेको भन्दै वडा नं ७ का वडाध्यक्ष रामछविला यादवले जलेश्वर नगरपालिकाले अहिलेसम्म बालबालिकाको संरक्षण सम्वद्र्धन तथा यस्ता कुरीति रोक्नका लागि कुनै पनि नियम कानून बनाउन नसकेको बताए।

जलेश्वरमा भइरहेको बालविवाह न्यूनीकरणका लागि नगरपालिका, वडा कार्यालय तथा निर्वाचित जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथा कडा कानून ल्याएर नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गर्नुपर्ने माग क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले गरे ।

यस सम्बन्धमा नगपालिकाका उपप्रमुख मुनचुन देवीले बालबालिकाको क्षेत्रमा नगरपालिकाले अहिलेसम्म कुनै पनि ऐन, नियम तथा कानून बनाउन नसकेको बताए ।

LIVE TV