३ फाल्गुन २०७८, मंगलवार
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा) । विगत दुई सातादेखि पर्साको विभिन्न नाकाबाट खुलेयाम तस्करी हुने गरेको छ । नेपाल भारतको मुख्य नाका भनेर चिनिने वीरगन्ज लगायत पर्सा जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रबाट खुलेयाम तस्करी भइरहेको पाइएको छ । राजस्व चुहावट नियन्त्रणका लागि खटिने सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सादा पोशाकमा खट्ने क्राइम टोलीका प्रहरीहरुको संरक्षणमा नै अहिले सीमावर्ती क्षेत्रबाट विभिन्न सामानहरुको खुलेयाम तस्करी भइरहेको छ ।

कपडा तस्करको नामले प्रख्यात मदन रुन्चे भन्ने मदन गुप्ताले अहिले भारतबाट नेपाल खुलेआम कपडाको तस्करी गरिरहेको पाइएको छ । भारतको सीमावर्ती सहर रक्सौलबाट विना भन्सारका लाखौं बराबरको कपडा दिनहुँ वीरगन्ज भित्रि रहेको छ । तस्कर गुप्ताले महँगो मूल्य बराबरको सुटिङ्ग सटिङ्गका कपडाहरु भारतीय सहर रक्सौलबाट रातिको समयमा वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा नयाँ वस्ती स्थित गोदाममा ल्याएर थन्काउने र विहानदेखि बेलुकासम्म ठेलामा राखेर खुलेयाम वीरगन्ज बजारसम्म पुर्याउने गरेका छन् ।

नगवाको नयाँ वस्ती रहेको उनको गोदाममा रातिको समयमा दर्जनौं तस्करहरुले महँगो मूल्यका कपडाहरु ल्याएर थुपार्छन् । भोलिपल्ट विहानदेखि साँझसम्म ठेलामा राखी जेलटोल, कुम्हालटोल हुँदै वीरगन्जको आदर्शनगर स्थित कपडा व्यापारीहरुको पसलसम्म उक्त कपडाहरु पुग्ने गरेको बताइएको छ । रातिको समयमा तस्करहरुले भारतबाट कपडा तस्करी गरि नेपालसम्म ल्याउने गरेका छन् भने दिनमा त्यही कपडालाई राखेर वीरगन्जको मुख्य बजारसम्म पु¥याउँदा कोही कसैले चेकजाँच न रोकटोक गर्ने गरेको पाइएको छ । विहानदेखि साँझसम्म कुम्हालटोल ६ नम्बर गेट हुँदै तस्कर गुप्ताको कपडाहरु खुलेयाम मुख्य बजारसम्म पुग्ने गरेको छ र त्यसलाई कसैले रोकटोक गर्ने गरेको छैन ।

तस्कर गुप्ताको सेटिङ्ग सीमावर्ती क्षेत्रमा रहेको प्रहरी चौकी एवं सशस्त्र प्रहरीहरुसँग मात्र नभई जिल्ला देखि केन्द्रसम्म रहेको बताइएको छ । सानो तिनो घरायसी सामान किन्न जाने सर्वसाधारणहरुको २ हजारको सामानलाई रोकेर चेकजाँच गर्ने सशस्त्र प्रहरीहरुले करोडौंको तस्करी गर्ने तस्करहरुको सामानलाई हेरेर पनि नहेरेको जस्तो गर्ने गरेको बताइएको छ । ठुलठूला तस्करहरुको सामान भारतबाट नेपाल भित्र्याउन समय तोकिएको हुन्छ, रातिको १२ बजेदेखि विहानको ३ बजेसम्म । त्यो बेलासम्म सशस्त्र प्रहरी एवं सादा पोशाकमा खटेका प्रहरी सीमावर्ती क्षेत्रमा भेटिँदैन्, तर अन्य बेला तैनाथ खटेका हुन्छन् ।

यो त उदाहारणको पात्र मात्रै हुन् । वीरगन्जमा दर्जनौं ठूलठूला तस्करहरु छन्, जसले खुलेयाम वीरगन्ज बजारसम्म भारतीय सामानहरु पु¥याउने गरेका छन् । अहिले कबाडको नाममा पनि व्यापक तस्करी भइरहेको छ । बजारबाट संकलन गरिएका कबाडहरुलाई छपकैयाका कबाडी तस्करहरुले रातिको समयमा भारततर्फ निर्यात गर्ने गरेका छन् । कबाडको नाममा प्लाष्टिक, फ्लाम एवं अन्य विभिन्न सामानहरु खुलेयाम तस्करी गर्ने गरेका छन् ।

वीरगन्ज भन्सार मुख्य नाकाबाट पनि तस्करहरुले अहिले छुट पाएका छन् । विहान ११ बजेदेखि भारतबाट सामान बोकेर आएका तस्करहरुले शंकराचार्य गेट नजिकै वीरगन्ज भन्सार पारी नै रोकेर राख्ने र साँझ भएपछि सशस्त्र प्रहरीको ड्युटी परिवर्तन हुने बेला १५ मिनेटको समयमा सबै तस्करहरुले तस्करीका सामानहरु वीरगन्ज भित्र्याउने गरेका छन् । ड्युटी परिवर्तनको नाममा वीरगन्ज भन्सारमा खटेका सशस्त्रहरुले तस्करहरुलाई इशारा दिएपछि मात्रै सामानहरु भित्रिने गरेको छ । यसैगरि वीरगन्जको नगवा एवं भुट्नदेखि हुँदै तस्करहरुले साइकलमा विभिन्न तस्करीका सामानहरु नेपाल भित्र्याउने गरेका छन् ।

चौपायाहरुको तस्करी पनि तिब्र रुपमा बढेको छ । चौपाया तस्करहरुले भारतबाट किनेका चौपायाहरुलाई चराउने बहाना बनाउँदै सीमा पारी ल्याउने गरेका छन् । सीमा क्षेत्रमा भैँसी चराउने भन्दै साँझ हुने वित्तिकै नेपाल प्रवेश गराउने गरेका छन् । खास गरेर छपकैया, इनर्वा नाकाबाट चौपापायहरु बढि नेपाल भित्रिने गरेका छन् भने जिल्लाको ग्रामीण भेगका सीमा हुँदै पनि चौपायाहरु नेपाल ल्याउने गरिएको छ । यिनीहरुलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली खटाइएको छ तर तिनीहरु रोक्नुको सट्टा उल्टै संरक्षण गर्ने गरेका छन् ।

LIVE TV