२ फाल्गुन २०७८, सोमबार
  • अनमोल कार्की

रौतहट । नेपाली कांग्रेसका मधेस प्रसेश कमिटीका सदस्य सूर्य थापाले देश, जिल्ला, नगर र वडामा नेपाली कांग्रेसको विकल्प नभएको बताएका छन् ।

कांग्रेस यमुनामाई गाउँ कमिटीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै थापाले जनताले कम्युनिष्टहरुलाई देश चलाउन भनेर दुई तिहाइ हाराहारी बहुमत दिएपनि ३ वर्षपनि राम्रोसँग सरकार चलाउन नसकेर तितरवितर भएकाले अहिले काँग्रेसको नेतृत्वमा देश राम्रो गतिमा चलिरहेको दावी गरे ।

उनले देशलाई आवश्यक हरेक अप्ठ्यारो अवस्थामा नेपाली काँग्रेसकै नेतृत्व आवश्यक पर्ने इतिहास भएकाले यसपालि नेपाली काँग्रेसलाई तीनै तहको चुुनावमा जनताले अत्याधिक मत दिएर जिताउनु पर्ने तर्क गरे ।

‘देशलाई समृद्ध बनाउन नेपाली काँग्रेसले मात्र सक्छ’ उनले भने, ‘इतिहासदेखिनै जनताको एजेन्डा नेपाली काँग्रेसले बोक्दै आएको छ । त्यसैले अब हुने हरेक चुनावमा जनताको रोजाई नेपाली काँग्रेसनै हुनेछ ।’

नेपाली काँग्रेसको तर्फबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुख पदका वलिया दावेदार समेत रहेका थापाले बैशाक ३० मा हुन लागेको स्थानिय तहको निर्वाचनमा एकढिक्का भएर लाग्न कार्यकर्तालाई आग्रह गर्दै कम्युनिष्टलेनै सत्ता संचालनको लागि काँग्रेस रोजेकाले जनताले कम्युनिष्ट रोज्न आवश्यक नभएको जिकिर गरे ।

नेपाली काँग्रेस यमुनामाई गाउँपालिकाका गाँउ सभापति सिताराम यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नवनिर्वाचित मधेस प्रदेश कमिटिका सभापति कृष्णा यादव, मधेस प्रदेश सदस्य सूर्य थापा, नितेश गुप्तालाई सम्मानित गरिएको थियो ।

LIVE TV