१ फाल्गुन २०७८, आईतवार
  • बिनय तिम्सिना,

इलाम । भारतीय जेलमा बिनाकसुर ४० वर्षसम्म राखिएका ६१ वर्षीय दूर्गाप्रसाद तिम्सिनाले आइतबार (आज) क्षतिपूर्ति वापतको रकम ५ लाख भारतीय रुपैयाँ बराबरको चेक पाएका छन् ।

काँकरभिट्टाको भन्सार कार्यालयको सभाहलमा भारत कोलकता महावाणिज्य दूतवासका महावाणिज्यदूत इश्वर राज पौडेलले इलाम प्रदेशसभा २(ख)का संसद् धिरेन्द्र शर्मा रमणको उपस्थितिमा पीडित दूर्गाप्रसादलाई चेक हस्तान्तरण गरेका थिए ।

कोलकाता हाइकोर्टले ६ साताभित्र दूर्गाप्रसादलाई क्षतिपूूर्ति दिन दुई महिनाअघि पश्चिम बंगाल सरकारका नाममा आदेश जारी गरेको थियो । चेक हस्तान्तरण गर्दै वाणिज्यदूत पौडेलले यो क्षतिपूर्तिको सुरुवात भएको र पीडितलाई थप क्षतिपूर्ति दिनका लागि आफूले भारत सरकारसँग कुरा गर्ने र नेपाल सरकारले पनि यस विषयमा पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा संसद शर्माले दूर्गाप्रसादलाई थप क्षतिपूर्ति दिलाउन आफू लागिपर्र्ने पनि बताएका थिए । दूर्गाप्रसादको मानसिक अवस्था कोलकाताको दमदम कारागारबाट घर ल्याउँदाको भन्दा अझ बिग्रिएको अनुभव परिवारजनले गरेका छन् ।

‘मलाई भतिजो गोपाल भनेर ठूलोबुबा (दुर्गाप्रसाद)ले चिन्नुहुन्थ्यो’, गोपालले भने, ‘अहिले त मलाई नै नचिन्ने भइसक्नुभएको छ ।’ घरमा रहँदा पनि दूर्गाप्रसाद परिवारमा कसैलाई खबरै नगरी गाउँतिर डुल्न जाने, टाढासम्म पुगेर हराउने गर्न थालेका थिए ।

उनको इलामस्थित मानवअघिकार मञ्चसहितको पहलमा विराटनगर लगेर उपचारको प्रयास भइरहेको छ । पश्चिम बंगालकी एक महिलाको हत्या आरोपमा दूर्गाप्रसादलाई पक्राउ गरी पश्चिम बंगालका विभिन्न जेलमा राखिएको थियो ।

जेल परेको ४० वर्षसम्म उनको मुद्दामा कुनै सुनुवाइ नभएको थाहा पाएपछि २०७७ चैत ७ मा कोलकाता हाइकोर्टले तिम्सिनालाई छाड्न आदेश दिएको थियो । कोलकातास्थित दमदम कारागारमा रहेका दूर्गाप्रसाद त्यहाँबाट छुटेपछि भोलिपल्ट आफ्नो घर इलामको माई नगरपालिका–१० लुम्बाक फर्किएका थिए ।

हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६÷६ महिनामा दूर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन पनि आदेश दिएको थियो । घर फर्केपछि मानसिक स्वास्थ्यमा थप समस्या देखिएको बताइएको छ ।

लामो समयसम्म जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारका लागि विराटनगर लगेर फर्काइएको छ । १७ दिन उपचार गर्दा पनि पूर्ण रूपमा निको नभएकाले मानवसेवा आश्रममै लगिएको गोपालले बताए ।

उनको उपचारका लागि प्रदेश १ सरकार र माई नगरपालिकाले समेत आर्थिक सहयोग गरेका छन् । २०३७ साल माघमा २० वर्षको उमेरका दूर्गाप्रसाद घर छाडेर बेपत्ता भएका थिए । त्यतिबेला उनको घर एकतप्पा गाउँ पञ्चायत–८ खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) मा थियो ।

तर, पछि उनको परिवार लुम्बाकमा बसाइँ सरेको थियो । घर छाडेकै वर्ष उनलाई हत्या आरोप लागेको थियो । २०७७ फागुनमा उनी दमदम कारागारमा छन् भन्ने पत्तो लागेपछि उद्धार गरिएको थियो ।

LIVE TV