१ फाल्गुन २०७८, आईतवार

काठमाडौं । नेपालमा तीन दशकदेखि महँगो विदेशी ब्रान्डका मदिराको कारोबार गर्दै आएका अमित अग्रवालले शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन राखेका छन् । गत पुसको अन्तिमतिर सपरिवार आफ्नो निवास र पसल दुवै ठाउँमा ताल्चा लगाएर एकाएक उनी गायब भएका थिए ।

ओमप्रकाश अग्रवालले सुरु गरेको मदिरा व्यापार छोराहरु अमित र अभि अग्रवालले सम्हालिरहेका छन् । अग्रवाल परिवार नेपालमा महँगा विदेशी मदिरा भित्र्याउने अग्रणीमध्येमा पर्छ । महँगो मदिरा व्यापारमा अग्रवाल दाजुभाईले साम्राज्य नै जमाएका थिए ।

त्यसोत, अग्रवाल दाजुभाईको मुख्य व्यवसाय नै मदिरा हो । मदिरामा उनीहरु दोस्रो पुस्ताका हुन् । उनीहरुका बुबा ओमप्रकाश अग्रवालले भारतबाट नेपाल आएर नेपालको नागरिकता लिएपछि विदेशबाट मदिरा ल्याएर नेपालमा बेच्ने व्यवसाय सुरु गरेका थिए ।

अग्रवाल दाजुभाईले विशेष गरी तीनवटा कम्पनी मार्फत् मदिराको कारोबार गर्दै आएका थिए । जसमध्ये एलायन्स डिस्ट्रिब्युटर्समार्फत् विदेशबाट मदिरा आयात गर्दथे, भने अमिअभि ट्रेडिङमार्फत् होलसेलको कारोबार गर्दै आएका थिए । त्यस्तै ग्रीनलाइन स्टोरले भने मदिराको खुद्रा कारोबार गर्दै आएको थियो ।

गत असोजमा अग्रवाल परिवारले आफ्नो निवास र पसल दुवै ठाउँमा ताल्चा लगाएर एकाएक गायब भएपछि उनकी छोरीले आफ्नो परिवारका ९ सदस्य हराएको भन्दै पुस २२ गते प्रहरीमा उजुरीसमेत दिएकी थिइन् । उक्त उजुरीको आधारमा प्रहरीले ज्ञानेश्वरस्थित अग्रवाल परिवारको घरमा ताल्चा फोडेर चेकजाँच गर्ने क्रममा ओमप्रकाशले लेखेको पत्र भेटिएको थियो ।

उक्त पत्रमा ओमप्रकाशले बिग्रिएको कारोबार उकास्न आफूले मिटरब्याजमा रकम लिएको र उक्त ऋण तिर्न नसक्दा मर्नु न बाँच्नुको अवस्थामा पुगेको उल्लेख गरेका थिए । उक्त पत्रमा उनकी श्रीमती र दुई छोराद्वयको समेत हस्ताक्षर थियो ।

लरबरिएको आवाजमा मिटरब्याजमा ऋण नलिएको दाबी

तर, करिब ३५ दिनपछि सार्वजनिक भएका अमित अग्रवालले लरबरिएको आवाजमा मिटरब्याजमा ऋण नलिएको दाबी गरेका छन् । पत्रकार सम्मेलनमा अमितको आवाज लरबरिएको थियो भने शरीर काँपिरहेको थियो । उनले आफ्नो साथीभाईसँग २४ प्रतिशत ब्याज तिर्ने शर्तमा ऋण लिएकाले बुवाले त्यसैलाई मिटरब्याज ठानेर घरमा पत्र लेखेर छोडेको बताए ।

यता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अग्रवाल परिवारले चर्को ब्याज तिर्ने शर्तमा रकम लिएको केही तथ्य बटुलेको जनाएको छ । पत्रकार सम्मेलनमा अमितको हाउभाउले मिटरब्याजीसँग ऋण लिएको भरसक लुकाउन खोजेको आँकलन गर्न सकिन्थ्यो ।

पत्रकार सम्मेलनमा ती व्यक्तिहरुको नाम लिएर प्रश्न सोध्दा अमितले कारोबारबारे स्वीकारेपनि ‘मिटरब्याज’ भन्ने शब्द भने निकालेनन् । उनले व्यवसायी रुपेश पाण्डे, सुनिल श्रेष्ठ र पूर्वएसएसपी दीपक श्रेष्ठलगायत सहकारीमा संलग्न भएकाले ऋण लिएको दाबी गरे । उनले भनेका थिए, ‘उनीहरू सहकारीमा संलग्न भएकाले ऋण लिएको हो ।’

त्यस्तै ‘सहकारीबाट लिएको ऋण हो भने किन धम्की आयो ?’ भन्ने प्रश्नमा उनले ‘एक महिनामा तिर्छु’ भनेको ऋण तीन महिनासम्म पनि तिर्न भनाभन भएको बताए । मिटरब्याजमा पैसा नलिएको बताइरहेका अमितले आफ्नो मुख्य समस्या भने व्यक्तिगत ऋण नै भएको बताए ।

बैंक तथा सहकारीबाट लिएको ऋण चुक्ता नभएमा धितोबाट असुल्ने कानुनी प्रावधान रहेपनि पत्रकार सम्मेलनमा ऋणी बैंक वा सहकारीबाट अग्रवाललाई धम्की आएको हो कि व्यक्तिबाट ? भन्नेबारे खुलाएनन् । उनले कोरोना महामारीका कारण होटल रेस्टुरेन्ट बन्द भएपछि आफ्नो कारोबार सुकेर बैंकको ऋण तिर्न नसकेको बताए ।

तर, बजारबाट पैसा नउठ्नु र लकडाउनका कारण कारोबार ठप्प भएपछि अग्रवालले मिटरब्याजमा पैसा लिएर बैंकको ऋण तिर्ने जुक्ति निकालेको हुनसक्ने सीआईबीको आकलन छ ।

बुबालाई डिप्रेसन भएकाले उपचारका लागि भारत गएको दाबी

अमिले लगातार ऋणीले अत्याएपछि बुबालाई डिप्रेसन भएपछि उपचारका लागि भारत गएको दाबी गरेका छन् । उनले भनेका थिए, ‘बुवाले आत्महत्या गर्न खोज्नुभयो । भारत लगेर बुवाको उपचार पनि गराउँछु र बुवालाई भाईको जिम्मा लगाएर आउँछु भन्ने योजनासहित बाहिरिएको हुँ ।’

रक्सौल गएपछि आफू र बुबा दुवैजना अस्पताल भर्ना भएको बताउँदै उनले भने, ‘उपचारपछि सीआईबीले खोजेको छ, भनेको मिडियामा देखेपछि म ू फर्किएको हुँ ।’

ऋण तिर्न पर्याप्त धितो रहेको दाबी

झन्डै २ दर्जन पत्रकार सामू उनले आफ्नो कथाव्यथा सुनाउँदै ऋण तिर्न आफूसँग पर्याप्त धितो रहेको दाबी गर्दै बिस्तारै ऋण तिर्ने बताए । उनले अहिले ८० करोड जति ऋण रहेको र त्यसवापत १ सय करोड रुपैयाँ बराबरको धितो रहेको दाबी समेत गरेका छन् ।

ऋण र धितो सम्पत्ति समान रहेकाले कोठा भाडामा बसेर नै व्यवहार मिलाउन सकिन्छ भन्ने विश्वासले आफू फर्किएको उनको भनाइ छ । उनले थप भनेका छन्, ‘अर्डर गरेको करिब १० कन्टेनर मदिरा आउन बाँकी छ । अब त्यसैले पुनः व्यवसाय चलाउने योजना छ ।’ विदेशी मदिराको व्यापारका कारण डुबेको भन्दै उनले अब स्वदेशी मदिराको व्यापार गर्ने बताए ।

कुन बैंकमा कति ऋण ?

अमितका अनुसार बैंकलाई ८० करोड र व्यक्तिगत तथा सहकारीलाई २० देखि ३० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ । उनका अनुसार एभरेष्ट बैंकमा ५ करोड रुपैयाँको ऋण रहेको छ । त्यसका लागि उनले ज्ञानेश्वरमा भएको जग्गा तथा चार करोड रुपैयाँ गरी २८ करोड ६० लाख रुपैयाँ बराबरको धितो राखेका छन् ।

यसका साथै ग्लोबल आइएमई बैंकमा ७ करोड ५० लाख रुपैयाँ ऋण र ५० लाख रुपैयाँ ब्याज गरी ८ करोड रुपैयाँ ऋण रहेको उनले बताए । उक्त बैंकबाट ऋण लिनका लागि काठमाडौं ज्ञानेश्वरमा भएको १३ आना २ पैसाको जग्गा धितोमा राखेका छन् ।

उनका अनुसार मेगा बैंकमा २३ करोड ऋण र डेढ करोड रुपैयाँ ब्याज पुगेको उनले बताए । उक्त ऋण लिनका लागि कालिमाटीमा रहेको २२ आना जग्गा, २ वटा घर तथा उक्त बैंकमा २ करोड रुपैयाँ बराबरको सेयर, बजारबाट उठ्न ५ करोड गरेर २९ करोडको धितो राखेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकमा २८ करोड ५० लाख रुपैयाँ साँवा र डेढ करोड रुपैयाँ ब्याज गरी ३० करोड रुपैयाँ ऋण रहेको उनले बताए । चन्द्रगढीको २२ आना जमिन, १५ करोड रुपैयाँको स्टक, बजारबाट उठाउनु पर्ने रकम १८ करोड रुपैयाँ गरेर ३३ करोड रुपैयाँको धितो राखेको उनले बताए ।

LIVE TV