२९ माघ २०७८, शनिबार
  • सविन लामिछाने,

आँबुखैरेनी । जिल्लाको आँबुखैरेनी गाँउपालिका वडा नं २ निवासी मनी गुरुङलाई जाडो महिनाभन्दा गर्मी महिना ठीक लाग्छ । जाडो महिनामा उनलाई चिसोबाट जोगिन तातो कपडाको अभाव झेल्नुपर्छ।

ओढ्ने ओच्छ्याउने देखि लगाउन तातो कपडा चाहिने भएपछि उनलाई जाडो महिना दिक्कलाग्दो हुन्छ । चिसोको समयमा हात खुट्टा दुखेर सहनै नसक्ने हुन्छ । भत्ताबापत आउने रकमले औषधी उपचारमा ठिक्क हुने भएपछि चिसो छल्न न्यानो कपडा किन्न नसकेकी मनीलाई गाँउपालिकाले न्यानो कपडा प्रदान गरेको छ ।

‘जाडोको समयमा न्यानो कपडा पाइयो । अब सहज हुने भयो ।’ उनले भनिन, ‘बुढाबुढीलाई यस्तै सहयोग खाँचो पर्छ । न्यानो पाइयो, यसैमा खुसी छु ।’ आँबुखैरेनीकै उदयबहादुर मगरको कथा पनि उस्तै छ ।

घर परिवारबाट हेला भोग्न थालेका ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले सम्मान गर्ने कार्यक्रम सञ्चालन गरेपछि घर परिवारबाट माया पाउन थालेको उनको अनुभव छ ।

‘धेरै ज्येष्ठ नागरिक परिवारबाट अपहेलित हुनुपर्ने अवस्था छ ।’ उनले भने, ‘गाउँपालिका र सामाजिक संघसंस्थाले सम्मान गर्न थालेपछि परिवारको अपहेलना गर्ने क्रम कम भएको छ ।’

उमेर बढ्दै जाँदा जेष्ठनागरिकलाई विभिन्न खाले रोगले च्याप्दै लग्छ। उपचार गर्न पनि परिवारका सदस्यबाट चासो घट्दै जाने जेष्ठ नागरिकको गुनासो छ। परिवारबाट अपहेलित हुन पुगेका ज्येष्ठ नागरिक र एकल महिलालाई स्थानीय सरकारले सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएका छन्। जसबाट समाजमा सकारात्मक सन्देश गएको छ ।

ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ताले पनि परिवारभित्र सम्मानको वातावरण बनाएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको बुझाई छ ।

‘सरकारले दिने अन्य सहयोगले ज्येष्ठ नागरिकप्रति आदर सम्मान गर्ने संस्कृति बढ्दै गएको छ’, उनले भने, ‘वडा वडामै गएर जेष्ठनागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम चलिरहेको छ।’

गाँउपालिकाले वार्षिक नीति, कार्यक्रम र बजेटमा उल्लेख भए बमोजिम शनिबार आँबुखैरेनी गाउँपालिकाको वडा नं १ र २ का जेष्ठ नागरिकलाई न्यानो कपडा, हर्लिक्स लगायत स्वास्थ्य साम्रगी वितरण गरिएको उनले जानकारी दिए ।

गाँउपालिकाले हरेक बर्ष ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै आएको छ । यस वर्ष ८० बर्ष माथिका दुई सय ७५ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा, हर्लिक्स लगायत स्वास्थ्य साम्रगी वितरण गरिने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले जेष्ठनागरिक सम्मानका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘ज्येष्ठ बुबा–आमाहरुको सम्मानको कार्यक्रम हरेक बर्ष गर्दै आएका छौं । जसले गर्दा उहाँहरुको सहज जीवनयापनमा सहयोग पुगेको छं, उनले भने, ‘विकास निर्माणको काम त भैरहेको छ । तर हामीले सामाजिक क्षेत्रलाई पनि संगसंगै लगेका छौं ।’

LIVE TV