२९ माघ २०७८, शनिबार
  • नयनजङ्ग कुँवर

नेपालीमा एउटा उखान छ- जब भयाे राति, तब बुढी ताती ! हो ठ्याकै यो उखान लागू हुन्छ, नेपाली राजनीतिमा पनि । जब-जब निर्वाचन आउँछ, तब नेता-कार्यकर्ताहरूले गाउँ तताउँछन् ।

तब नै नेपाली राजनीतिक आकाशमा एकैपटक भीषण वर्षा, असिना पानी पर्दछ । भन्नुको अर्थ- दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीको प्रचारप्रसार गर्न घरदैलोमा आउँछन् । अनि नातावाद, कृपावाद, तपाई मेरो काका, कार्की, दाजुभाइ, फुपूफुपाजु, दिदीभिना, मामामाइजु, सालोसाली लगायतका सातपुस्ते नाता जोड्दै भोट माग्छन्, आफ्ना ती पाखण्डी नेताहरूका लागि !

किनकि त्यति नगरी उनीहरूलाई आफ्नो दुनो सोझ्याउन मुस्किल छ । छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, युरोपका मुलक पठाउनु छ । दाईभाई, ज्वाइँ, ससुरा-सम्दी-सम्दिनीलाई, सालो-सालीलाई राजदूत, स्वकीय सचिव के के बनाउनु छ । केहीलाई कुनै न कुन निकायमा नियुक्ति दिनु छ । बाँकी रहेका नङ्ग्रे, फूले, ठूल्लेलाई भन-भन भाई हो, ठेक्कापट्टा देउ भन्दै ठेक्का हत्याउन लगाउनु छ । अरु आसेपासेलाई कुनै कार्यालयमा विधि, विधान र सिद्धान्तभन्दा बाहिरबाट सिधै कर्मचारी नियुक्ति गर्नु छ ।

तर, मैले यिनीहरूका इच्छा-आकांक्षा पूरा गर्न मेरो घरको धुरीमा तिनको पार्टीको झण्डा किन झुन्ड्याउनु पर्ने ? तिनका लागि हामी मर्दापर्दा चाहिने दाजुभाइले पार्टी झण्डाकै कारण पानी, पँधेरो, बाटोघाटो र घरको धुरी नै काटेर छुटिनु पर्ने ? बिचरा गाउँका सोझासाझा दाजुभाईलाई के थाहा, यी पाखण्डीले हामीलाई कतिसम्म प्रयोग गरेका छन् भन्ने कुरा ?-

यो कस्तो राजनीतिक विधि, विधान, सिद्धान्त र मूल्य-मान्यता हो ? गाउँका सोझासाझा जनताको रगत पिएर यी किर्ना बाँच्नुपर्ने ! के यी किर्नाले हाम्रो रगत सधैँ-सधैँभरि पिइरहनु पर्ने अनि हामीले रगत दिइरहनुपर्ने, तिनकाे भुँडी नै फुट्नेगरी ?

यदि यिनीहरूको राजनीति जनताका लागि हो भने जनताको भावनाको कदर गर्नुपर्दैन ? चुनावको बेलामा जनतासामु गरेका वाचावन्धन र प्रतिबद्धतामा जवाफदेही बन्नुपर्दैन ? कि चुनावको बेलामा जे–जे भने पनि हुन्छ, जनतालाई भेडा–बाख्रा सम्झिएर ? यिनीहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न जनताले सामूहिक आहुति दिनुपर्ने किन ?

हुन त राजनीतिक संस्कार नै यसरी विकसित भएको छ । यी पाखण्डीसँग के विधि, विधान, सिद्धान्तको जवाफदेहीता खोज्नु ? बेकार  हुन्छ ।

अर्काे कुरा, नेपालका प्रमुख भनिएकै राजनीतिक दलहरू एमाले, कांग्रेस, माओवादी केन्द्र र अन्य सानासाना दलहरू कसैसँग पनि जनताको वास्तविक हितको लागि योजना नै छैन । न त आफूले निर्वाचनको बेला जनतासामु राखेका प्रतिबद्धता पूरा गर्ने हैसियत नै छ । यिनीहरूसँग न कुनै दीर्घकालीन खाका नै छ, नत दीर्घकालीन योजना र नक्सा ।  यिनीहरूसँग छ त केवल आफू कसरी विनोद चौधरी र मुकेश अम्बानीजस्तो बन्ने भन्ने हुटहुटी ! सरकारमा रहेकालाई घोप्ट्याउने, अर्काेलाई काँध चढाउने, फेरि त्यसलाई लडाउने । जस्तो कि काले–काले मिलीजुली खाउँ भाले ! स्याम–स्याम पप्पी स्याम !!

के आशा गर्नु ? नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले सडक निर्माण गरेको वर्षाैँ पुग्दा पनि थाहा नपाउने मेरो देशको सरकार र नेपालका राजनीतिक दलसँग ?

सीमा क्षेत्रका जनतालाई भारतीय सुरक्षा बल एसएसबीले दिएको पीडा थाहा छैन । मधेसका जनतामाथि बस्तीमै पसेर भारतीय सुरक्षा बलले गरेको थिचोमिचाे, कुटपिटका कारण अङ्गभङ्ग भएको थाहा छैन । ती जनताले आफ्नो सीमा रक्षाका लागि गरेको संघर्ष र बलिदानको पीडा थाहा छैन । बाढी-पहिरो र डुबानबाट कैयाैँ घर-परिवार उजाडिएकाे र पीडितकाे छट्पटी पीडा थाहा छैन । त्यहीँमाथि सुदूर र कर्णालीका जनताको भोक-शोक-राेगको अवस्था झन् थाहा छैन । किताब बोक्दै, भविष्य देख्दै, बस चढ्दै विद्यालय जानुपर्ने विद्यार्थीहरू ज्यान जोखिममा राखेर तुईनबाट नदी तर्दै विद्यालय पुग्नुको पीडा थाहा छैन ।

अनि यी पाखण्डी राजनीति दलका नेताहरूका मुख्य एजेण्डा के ? कुनचाहिँ राजनीतिक दलले मधेशको चित्कार सुन्यो ? कुनचाहिँ नेताले कर्णालीका जनताको दुःखपीडा देख्यो ? अनि कुनचाहिँ प्रधानमन्त्री/मन्त्रीले पूर्वको पाचँथरदेखि पश्चिमको बाजुरासम्म जनताको दुःख महसुस गर्यो ? कोही छ यो देशमा माइकालाल, जनताको चित्कार सुन्ने, दुःख महसुस गर्ने ?

हजाराैँ ज्यान, लाखौँकाे भविष्य स्वाहा 

सन् २०१९ डिसेम्बरकाे अन्त्यतिर चीनको हुवान प्रान्तमा देखिएको कोरोना भाइरसले पूरै विश्वलाई आच्छुआच्छु पार्यो । त्यसबाट नेपाल पनि अछुतो रहेन । जसका कारण हजाराैँ उद्याेग, कलकारखाना बन्द भए, लाखौँ श्रमिक कामबाट निकालिए । सरकारी तथा गैरसरकारी कार्यालय, स्कुल-कलेज बन्द भए । यो देशको भविष्य हाँक्ने लाखौँ विद्यार्थीहरू शिक्षाबाट वञ्चित भए ।

हातखुट्टा पिटेर साँझ-बिहानको छाक टार्नेहरूलाई एक छाक खाना मुस्किल भयो । भविष्य खोज्दै ठूलठूला सपना बोकेर हिँडेका विद्यार्थीहरूकाे सपना चक्नाचुर भयाे । वैदेशिक रोजगारीका लागि जापान, दुबई, कतार, साउदी, मलेसियालगायत खाडी मुलक पुगेका युवाहरूलाई ज्यान जोगाउन धौधौ भयो । सिर्फ जन्मथलो फर्किनु बाहेक उनीहरूसँग कुनै विकल्प थिएन ।

यता स्वदेशकै शहरहरूमा कोठा भाडामा लिएर बस्ने विद्यार्थी तथा श्रमिकको हालत पनि कम्ति खराब थिएन । न दाम, न काम, सुख्खा राम ! कोठा भाडा कहाँबाट तिर्ने ? घर फर्किन गाडी छैन, कालाेबजार गाडीकाे तिर्ने भाडा छैन । घरबाट पैसा मागेर घर जाउँ सार्वजनिक सवारी साधनै छैन । घर नजाउँ भाडा तिर्ने कसरी ? यही बाध्यताले कतिपय मानिस त हिँडेर पूर्वको भोजपुर, ताप्लेजुङ र पश्चिमको रुकुम, रोल्पादेखि हुम्ला, जुम्ला र दार्चुलासम्म पुगे । कति हिँड्दाहिँड्दै भोक–शोक र रोगका कारण परमधाम पुगे । यतिसम्म कि सरकारले लगाएको लकडाउनको अपहेलना गर्दै भोकभोकै घर हिँडेका कतिपयले त पुलिस प्रशासनको रामधुलाई खाए । अर्काेतिर यात्रुलाई प्रशासनको डर, अझ अर्कोतिर रोग लागेर मरिन्छ कि भने डर, कतै आमाबुवा, छोराछोरीकाे डर त कतै भर्खरै विवाह गरेकी श्रीमतीको सिन्दुर पुछिन्छ कि भने डर ?

त्यो बेला कुनै राजनीतिक दलले सोच्यो उनीहरूकाे पीडाबारे ? आफ्ना नागरिकलाई सहज वातारणमा गन्तव्यसम्म पुर्याउनुपर्छ, बीच बाटाेमा अलपत्र फाल्नु हुन्न, भोलि निर्वाचनमा चाहिने यिनै नागरिक हुन् भनेर ?

अब के नाकले जनतासामु जानुहुन्छ पाखण्डीज्यू ?

अब कसरी के नाकमुख लिएर जनतासामु जानुहुन्छ पाखण्डीज्यू ? आफ्नो स्वार्थ पूरा गर्न कि पार्टीको स्वार्थ पूरा गर्न ? जब देशमा कोरोनाको महामारी थियो, जनता समस्यामा थिए । त्यो बेला ‘अपना काम बनता, भाड्में जाए जनता ?’ तर,आफ्नो स्वार्थका लागि कोरोना होस् कि हैजा, बालै फरर ?

कोरोनाको समयमा महाशक्ति प्रदर्शन गरी देखाउनुपर्ने ? पूर्वको झापा, इलाम, पाँचथर र पश्चिमको रुकुम, रोल्पा मुगुबाट दिनको एक हजार रुपैयाँ र खान-बस्नको व्यवस्था र सानालाई डिलक्स बस, मध्यलाई एसी बस र नेताहरूलाई प्लेन नै चार्टर गरेर काठमाडौँ उतारे । कतै नाटक र कतै नाेटको खेल देखाए । अर्काेतिर नेपाली जनताको लागि छिमेकी देशले दिएको २४ लाख कोरोनाविरुद्धको खोप लुकाउनसम्म भ्याए । लुकाउनु मात्र के भन्नु चोर्नुसम्म भ्याए ? आँखा झिमिक माल गायब, यहि हो सरकारको काम ?

रोग, शोक, भोकले छट्पटाइरहँदा जनताको दुःख कस्ले देख्यो ? त्यो समस्या कुन पार्टीको एजेन्डा बन्यो । बन्यो त सिर्फ सहयोगी मन भएका व्यक्तिको, सामाजिक अभियान्ताको अनि सञ्चारमाध्यमको हेडलाइन मात्र । जनताको छट्पटाहट न त कुनै पार्टीले देख्यो न सरकारले नै सुन्यो । अनि मैले तपाईको राजनीतिक पार्टीको खोल लागाएर बस्ने ? कुन चाहिँ नेताको टीका ग्रहण गरिराख्ने कहिलेसम्म ? हिजो मेरा बाउ-बाजेको पुस्ताले कहिले एमाले, कहिले कांग्रेस त कहिले माओवादी केन्द्रको त तालपरे राप्रपाको झण्डा बोक्न समेत छोडेनन् । अनि मैले पनि त्यही बाटो हिँड्नु पर्ने हो हाे ? हाे भने भोलिका सन्तानले मदेखि लिएर मेरो बाकाे पुस्ता सम्मलाई धिकार्ने छ, सराप्ने छ । त्यसैले अहिले पालो आएको छ । एक पटक ठण्डादिमागले सोच्ने, भोलिकाे पुस्ताकाबाट जस पाउने । आफ्नो जनप्रतिनिधिसँग औँला उठाएर प्रश्न सोधाैँ- तपाईंको राजनीतिक एजेण्डा सक्कली हो कि नक्कली ? कि त अरुबाट कपी गरेको हो ? कि जनताको ल्याबमा परिक्षण गर्ने ? नेताहरूको वास्तविक अनुहार हो कि सोह्रश्रृङ्गारले चम्किलो बनाएको हो ?

अब पाखण्डी नेताहरूलाई प्रश्न सोध्न र जवाफ माग्ने जिम्मा मेरो, तपाईको, हाम्रो अनि हामी सबैको हाे । राजनीति किन, केका लागि र कसका लागि गर्ने ? आफ्ना नातागोता, इष्टमित्रका लागि कि जनताका लागि ? यदि यी प्रश्नको बनावटी जवाफ आउँछ भने सोच्नुहोस् कि त्यो देश र जनताको नेता बन्नलायक छैन । त्यो कठपुतलीलाई बिदाइ गरिदिउँ अब ।  यति गर्न सकियो भने साँच्चिकै जनताको राजनेता खोज्न सी-चिनफिङ खोज्न चाइना, भ्लादिमर पुटिन खोज्न रुस र ओबामा खोज्न अमेरिका जानु पर्दैन । तपाईं-हामीले खोजेको नेता हाम्रै समाजमा भेटिनेछन् । त्यसैले हाम्रो होइन, राम्रो खोजाैँ । जसले देशलाई विकास र निकास दिन सकोस् ।

(लेखक सीसीएमए कलेजमा अध्ययनरत सीए विद्यार्थी हुन्)

प्रतिक्रिया दिनुहोस्
LIVE TV