२९ माघ २०७८, शनिबार

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सञ्चारमाध्यमका समाचारमा अतिरञ्जना भएमा समाजमा भ्रम सिर्जना हुने बताउनुभएको छ ।

युनेस्को नेपालका निम्ति नेपाल राष्ट्रिय आयोगको सहयोगमा तुलसादेवी हरिहर फाउण्डेशनले क्रियाशील पत्रकारका लागि आयोजना गरेको आचारसंहितासम्बन्धी भर्चुअल तालीममा सचिव अर्यालले जनतालाई सही र छिटोछरितो सूचना प्रवाह गर्नसकेमा पत्रकारिता जगत् व्यावसायिक, निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन योगदान मिल्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा कुनै समस्या भएमा र सरकारले गर्नुपर्ने सहजीकरणमा मन्त्रालयले पहल गर्ने वाचा गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले ‘नेपाली रेडियोमा आचारसंहिता पालना र प्रयोग’बारे प्रस्तुत गर्दै पत्रकार आचारसंहिता पत्रकार आफैँले आफ्ना लागि तर्जुमा गरेर लागू गर्ने विषय भएकाले पत्रकार आफू त्यसबारे स्पष्ट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले ‘टेलिभिजन पत्रकारितामा आचारसंहिता पालना र प्रयोग’, राससका प्रधानसम्पादक एकराज पाठकले ‘नेपाली मिडियामा आचारसंहिता पालना र प्रयोग एवं बिहंगम दृष्टिकोण’, प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले ‘प्रेस काउन्सिलको परिचय, पत्रकार आचारसंहितामा कारबाहीको अवस्था र पालनाका उपाय’ तथा पत्रकार प्रकाश सिलवालले ‘समाचार सङ्कलन र आचारसंहिता’बारे आ आफ्नो प्रस्तुति गर्नुभएको थियो ।

फाउण्डेसनले शुक्रबार र शनिबार लुम्बिनी प्रदेशका पत्रकारका लागि तालिम आयोजना गरेको हो भने यसअघि अन्य प्रदेशमा यस्तै प्रकारको कार्यक्रम भौतिक र भर्चुअलरुपमा सम्पन्न गरेको कार्यक्रम संयोजक डिल्लीरमण सुवेदीले जानकारी दिनुभयो ।

LIVE TV