२६ माघ २०७८, बुधबार
  • युवराज आचार्य,

झापा । जिल्ला प्रहरी कार्यालय झापाले काँकरभिट्टा नाका हुँदै विस्फोटक पदार्थ नेपाल भित्र्याउने एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार इलाका प्रहरी कार्यालय काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर पक्राउ परेका चिरण रोका मगरलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी काँकरभिट्टाको टोलीले २८ वर्षीय रोकामगरलाई माघ २१ ग्ते म्याग्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव निरीक्षक बसन्त पाठकले पत्रकार सम्मेलन मार्फत् जानकारी दिए ।

पक्राउ परेका रोकामगर म्याग्दीको रुमस्थित मालिका गाउँपालिका–२ का स्थानीय हुन् । उनले पश्चिममा ढुंगा उत्खन्नका लागि विष्फोटक पदार्थ लगेको बयान दिएको प्रहरीले जनाएको छ ।

रोक्काले यसअघि ३ पटक विस्फोटक पदार्थ नेपाल भित्राएको प्रहरीको भनाइ छ । उनले ०७२, ०७४ र ०७५ सालमा नेपोलाइट र डिटोनेटर नेपाल भित्राएका थिए । त्यसबेला पनि भारतको दार्जिलिङ र काँकरभिट्टामा पक्राउ परी धरौटीमा छुटेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार रोका भारतको मेघालय राज्यको सिलोङ्गको कोइलाखानीमा काम गर्ने मजदुर हुन् । उनले नेपोलाइट र डिटोनेटर प्रतिसेट भारतीय ३५ रुपैयाँमा खरि गरी पश्चिम ढुंगाखानीका ठेकेदारलाई ३५ सय सम्ममा बिक्री गर्ने गरेको प्रहरीलाई बयान दिएको बताईएको छ ।

झापामा केही दिन अघि विर्तामोड र दमकमा “भूमिगत समूह”ले बम जस्तो विष्फोटक पदार्थ राखेर जनता त्रसित बनाएको थियो । तर, यसपटक नाकाबाट विष्फोटक पदार्थ बरामद भएको र उक्त घटनामा कुनै समुहको संलग्नता नदेखिएको प्रवक्ता पाठक बताउँछन् ।

उनले भने, “घर आउँदा जाँदा अलिकति भएपनि कमाई हुने रहेछ । त्यसैले प्रायः घर आउँदा उक्त सामान ल्याउने गरेका रहेछन् ।” यही माघ १८ गते मोचीनगर–७ गैरीगाउँमा बालुवामा गाडिएको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले ८० वटा डेटोनेटर र ९१ वटा नेपोलाइट एक्सप्लोसिभ बरामद गरेको थियो ।

LIVE TV