२६ माघ २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । विराटनगर भन्सार नाकाको मुख्य मार्गमा पर्ने जोगबनी नजिकको मीरगञ्ज पुल भासिएको एक महिना वितिसक्दा समेत सरकारले पर्याप्त पहल नगर्दा आयात–निर्यातमा समस्या भएको र उत्पादन लागत बढेको सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यापारीहरुले गुनासो गरेका छन् ।

गत पौष २२ गते भासिएको पुलबाट आयात–निर्यात पूर्ण रुपमा रोकिएपछि अहिले कोशी व्यारेज भीमनगर रुट भएर यस क्षेत्रका उद्योगहरुको कच्चा पदार्थ आयात भइरहेको छ । विगत १५ दिनदेखि मोरङ व्यापार संघ नेतृत्वमा मीरगञ्ज पुल निर्माणका लागि बिहारका मन्त्री तथा अररियाका उच्च अधिकारीहरुसँग छलफल भइरहेको छ ।

आयात–निर्यात सूचारु गराउने जिम्मेवारी सरकारको भएपनि सरकारका तर्फबाट सबल पहल नभएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । भासिएको मीरगञ्ज पुल उत्तरतर्फ बन्दै गरेको नयाँ पुलको निर्माण छिटो सम्पन्न गराउन आफूहरुले प्रयास गरिरहेको मोरङ व्यापार संघका अध्यक्ष रिजालले जानकारी दिए ।

करिब १ सय १० किलोमिटर घुमाउरो बाटो भएर भीमनगर नाकाबाट आयात निर्यात हुँदा सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरुलाई दैनिक लाखौ रुपैया घाटा भइरहेको छ । र, यसको प्रत्यक्ष मार अन्ततः उपभोक्तामा पर्ने भएकाले नेपाल सरकारलाई चासो र चिन्ता लिइदिन उद्योगी व्यापारीहरुले आग्रह गरेका छन् ।

LIVE TV