२६ माघ २०७८, बुधबार
  • सविन लामिछाने,

तनहुँ । जिल्लाको व्यास नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले बुधबारदेखि नगरक्षेत्रभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन थालेको हो ।

पहिलो चरणमा बुधबार व्यास नगरपालिका–२ स्थित जनजागृती टोलमा निर्माण गरिएका संरचना हटाइएको छ । स्थानीय विक्रम श्रेष्ठ, भरत पोख्रेल, मनबहादुर रुचाल, राजेन्द्र श्रेष्ठ, कला श्रेष्ठ र उत्तरशीला टोलस्थित वृषराज श्रेष्ठले निर्माण गरेका संरचना भत्काइएको हो ।

सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा भत्काउन पटक–पटक पत्राचार गर्दा पनि नभत्काएपछि नगरपालिकाले डोजर लगाएर भत्काइएको व्यास २ का वडा अध्यक्ष काशीनाथ श्रेष्ठले बताए ।

नगरपालिकाले गत पुस २२ गते १५ दिनको सूचना प्रकाशित गरी सार्वजनिक जग्गा मिची निर्माण गरिएका घरटहरा हटाउन सम्बन्धित व्यक्तिलाई सूचना जारी गरेको थियो । नगरक्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना हटाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको छ । साथै व्यास नगरपालिका–१ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ ।

नगरभित्र सरकारी जग्गा मिचेर १४ वटा घर निर्माण भएको छ । ४८ वटा संरचना अनियमित तरिकाले बनेका छन्, त्यसमध्ये १४ वटा संरचना जग्गा अतिक्रमण गरेको बनेको नगरपालिकाले जनाएको छ ।

LIVE TV