२४ माघ २०७८, सोमबार

काठमाडौं । नेकपा एमाले सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को मुख्यालयलाई लेखेको पत्रबारे छानबिन गर्नुपर्ने माग गरेका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले देउवा र प्रचण्डले असोज १३ गते लेखेको पत्रबारे छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

रावलले देउवा र प्रचण्डको उक्त पत्रले नेपालको कूटनीति कमजोर बनाएको पनि बताएका छन् । उनले भने, ‘ प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रूपमा लेखेको पत्र हो । यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विषय बन्नुपर्छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यस्तो पत्र लेखेर यो सम्झौता अनुमोदन गर्नेछौं समय दिनुपर्‍यो भन्नुभएको छ । एमसीसी सम्झौताको सम्बन्धमा नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत उपयोग गर्नेछौं भनेर लेखेपछि नेपालको कूटनीतिक सम्बन्ध कता गयो ?’

रावलले देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रले नेपालको कूटनीति कसरी चलेको छ भन्ने छर्लंग बनाएको पनि बताए ।

LIVE TV