२३ माघ २०७८, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार शीतलनिवास पुगेका थिए ।

सरकारले स्थानीय निर्वाचनको मिति तोक्न नसकिरहेको अवस्थामा राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ । साे क्रममा स्थानीय तहको निर्वाचन र एमसीसीको विषयमा पनि कुराकानी भएको स्राेतकाे भनाइ छ ।

राष्ट्रपतिसहित एमाले र निर्वाचन आयोगले समयमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई दबाब दिइरहेका छन् । निर्वाचन आयोगले आगामी जेठमा निर्वाचन गर्न सकिने प्रस्ताव गरेकाे छ ।

त्यस्तै पाँचदलीय गठबन्धनमा घाँडो बनेको एमसिसीको सम्बन्धमा एमाले र काँग्रेसलाइ मिलाएर पास गराउने सम्बन्धमा राष्ट्रपतिले भूमिका खेलिरहेको समेत राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।

एमसिसी पास गर्ने काँग्रेसको चाहना भए पनि सत्ता गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने अहिलेकै अवस्थामा एमसिसी पास गर्न नहुने अडान राखिरहेका छन् ।

यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे लिखित नोट बुझाउँदै स्थानीय तहको चुनाव वैशाखमै गराउन दबाब दिएकी थिइन् । उक्त नोटपछि राष्ट्रिपति भण्डारीको आलोचनासमेत भएको थियो ।

चौतर्फी दबाबपछि प्रधानमन्त्री देउवा वैशाखमा नभए पनि जेठमा स्थानीय तहको निर्वाचन गर्न तयार भएकाे बुझिएकाे छ ।

LIVE TV