२२ माघ २०७८, शनिबार
  • प्रा. डा. श्याम जोशी

हिन्दूहरुका त्रिदेव मानिने ब्रम्हा, विष्णु र शिवका अर्धाङ्गिनी क्रमशः सरस्वती, लक्ष्मी र पार्वती वा दुर्गामध्ये शक्तिकी देवी दुर्गाको पूजा–आराधना विजयादशमीमा हुन्छ । धनकी देवी लक्ष्मीको पूजा–आराधना दीपावलीमा हुन्छ भने शिक्षाकी देवी सरस्वतीको पूजा–आराधना भने वसन्तपञ्चमी वा श्रीपञ्चमी मा हुन्छ । त्यसैले श्रीपञ्चमी भन्नासाथ सरस्वती पूजा भन्ने बोध हुन्छ । सरस्वतीलाई विद्या, बुद्धि र ज्ञानकी देवी मानिन्छ । त्यसैले सरस्वतीको पूजा गर्दा बलि चढाइँदैन ।

इतिहासकार सर विलियम जोन्सले हिन्दू देवी सरस्वतीलाई ग्रीस तथा रोमनहरुकी देवी मिनर्वासँग तुलना गरेका थिए । विणा र पुस्तक हातमा लिएर सेतो कमलको फूलमा विराजमान हुने र हाँसको बाहनमा विचरण गर्ने सरस्वतीलाई देव तथा असुर दुबैले पूजा गर्ने गर्थे भन्ने पदम पुराणमा उल्लेख छ । देवी दुर्गाको बाहन सिंह र देवी लक्ष्मीको बाहन लाटोकोसेरो (बुद्धि तथा मुर्खता दुबैका प्रतीक) भएजस्तै सरस्वतीको बाहन हाँस हो । दक्षिण भारततिर भने मयुरलाइ सरस्वतीको बाहन मान्ने गर्छन् । सरस्वतीको महिमा यसको आराधना गर्न भनिने श्लोकबाट नै स्पस्ट हुन्छ–

सरस्वती मया दृस्टा, विणा, पुस्तक धारिणी,
हंसबाहनसङ्युक्ता, बिध्या दानम करोतुमे ।

अर्थात् विणा र पुस्तक हातमा लिएकी र हासको बाहन भएकी मायाकी खानी सरस्वतीले विद्या दान गर्छिन् ।

वसन्तपञ्चमी माघ महिनाको पञ्चमीको दिन पर्ने भएको र वसन्त ऋतु आगमनको संकेत गर्ने भएकोले वसन्तपञ्चमी भनिएको हो । सो दिन सरस्वतीको पूजा–आराधना गर्न सरस्वतीका मन्दिरमा भक्तजनहरुको, खासगरी विद्यार्थीहरुको भीड लाग्छ । सोही दिनदेखि बालबच्चालाईलाई अक्षर सिकाउन आरम्भ गर्ने चलन छ । यति मात्र नभएर घरघरमा भएका शैक्षिक सामग्री जस्तो कि किताब, कलम–कापी, तान, लेख्ने पाटी , बाजागाजा आदिलाई पनि सरस्वतीको रुपमा फूल, अक्षता , फलफूल, नैवेद्य, चटामारी राखेर पूजा गर्ने प्रचलन छ ।

वसन्त पञ्चमीलाई वसन्त ऋतुको पहिलो दिन मानिन्छ । वसन्तपञ्चमीपछि रुख–बिरुवाहरुमा नयाँ पालुवाहरु पलाउन थाल्छन् । पौराणिक दोलखा सहरमा सो दिन बिहान विद्यार्थीहरु ड्वाकुलुङा टोलमा रहेको सरस्वती मन्दिरमा दर्शन गर्थे । नेपाल संवत ६४३ ९वि.सं. १५८०) तिर स्थापना गरिएको सो मन्दिरभित्र नारायणको मुर्ति र बाहिर सरस्वतीको चार हात भएको ढुङ्गाको मूर्ति छ ।

दोलखाको तिलिञ्चो डाँडामा यौटा सानो मन्दिर छ, जसमा यौटा चार हात भएकी सरस्वतीको ढुङ्गाको मूर्ति छ । सो मूर्तिको अगाडि काठमाडौँको स्वयम्भू, पछाडिको मञ्जुश्री मन्दिरमा जस्तै मञ्जुश्रीको पादुकामा दुई आँखा छन् । लेखक वसन्त मानन्धरले आफ्नो एक लेखमा ती दुई आँखासम्बन्धी यस्तो कथा उल्लेख गरेका छन्– ‘भारतको विक्रमशिला महाविहारका एक महापन्डित धर्मश्रीमित्रलाई ‘नाम संगीति’ ग्रन्थको यौटा पाठमा थप जानकारी चाहिएकोले नेपालको बाटो भएर महाचीनको यात्रा गरिरहेका थिए । तर उनले भेट्न चाहेका गुरु काठमाडौंको मैह्पीमा खेती–किसानी गरिरहेको अवस्थामा भेटिए । ती किसान मञ्जुश्री नै भएको भेद पछि खुल्यो । धर्मश्रीमित्रले पछि मञ्जुश्रीको अपमान गरेको कारण उनका दुबै आँखा मञ्जुश्रीको पादुकामा खसेका थिए । यही मान्यताअनुसार दोलखाको मञ्जुश्रीको पादुकामा पनि दुई आँखा अङ्कित छन ।’

दोलखाको तिलिञ्चो डाँडास्थित सरस्वती वा मञ्जुश्री मन्दिरमा यो क्षेत्रको विकास आरम्भकर्ता बलराम श्रेष्ठसँग लेखक

त्यसैले सरस्वती मन्दिरलाई नै मञ्जुश्री मन्दिर पनि भनिन्छ । यही कारणले गर्दा श्रीपञ्चमीको दिन बौद्ध तथा हिन्दू धर्मावलम्बी दुबैले सभक्ति सरस्वतीको पूजा–आराधना गर्छन् । मञ्जुश्रीलाई नै स्थानीयहरु मन्नेस्वरी पनि भन्ने गर्छन् । जस्तो कि ड्वाकु छेलाई ड्वाक्छे , पलाचुटिलाई पाल्चुटी र कोबि छेलाई कोब्छे भनेझैँ ।

त्यही सरस्वती मन्दिरमा श्रीपञ्चमीको दिन भक्तजनहरुको, खासगरि स्कुले विद्यार्थीहरुको भीड लाग्छ । स्कुलहरुले आफ्ना विद्यार्थीहरुसँग पैसा उठाएर पिकनिक लान्छन् । स्कुलबाट नलगेमा विद्यार्थीहरु स्वयं पनि आपसमा पैसा उठाएर पिकनिक जान्छ्न् । सरस्वतीको मूर्तिमा भोग नचल्ने भएकोले नजिकै रहेको गणेशको मूर्तिमा भाले, बोका आदिको बलि चढाउने गर्छन् । दिन ढल्न लागेपछि खाइपिइ सकेर मादल आदिको तालमा नाचगान गरेर फर्कन्छन् । सो सरस्वती स्थानमा म स्वयम् महासचिव हुँदा द्वालखा गुठीद्वारा वृक्षारोपण गरिएको थियो र अरु संस्थाले पनि वृक्षारोपण गरेर करिबकरिब नांगो डाँडालाई हरियो जंगलमा परिणत गरिएको थियो । त्यस क्षेत्रको विकासको आरम्भ भने एक्लो बलराम श्रेष्ठले स्थानीयहरुसँग चन्दा उठाएर गरेका थिए । उनैले सर्वप्रथम गुरु मञ्जुश्री तलाउको पानी बाहिर पठाउन दोलखाको बाटो भएर नेपालतिर लागेका र सोही सम्झनास्वरुप मञ्जुश्रीको मन्दिर दोलखामा स्थापना भएको हुनसक्छ भन्ने अनुमान गरेका हुन् ।

हाल तिलिञ्चो क्षेत्रलाई सरकारी आर्थिक सहयोगमा मञ्जुश्री पार्कको रुपमा बिकशित गर्ने प्रयास भइरहेको छ । यसको उद्देश्य तिलिञ्चो छेत्रलाई सरस्वती पूजाको दिन मात्र नभएर सधैँ वनभोज र दृश्यावलोकन स्थलको रुपमा विकास गर्ने प्रयत्न भइरहेको छ, जुन सराहनीय छ । भिमेश्वर दर्शन गर्न आउने भक्तजनहरुलाई कमसेकम एक दिन दोलखामा बसाउनका लागि केही मनोरन्जनका साधन विकसित गर्नु जरुरी छ । मञ्जुश्रीको मन्दिरबाट नागबेली परेर बगेको तामाकोशी नदी र नजिकै देखिने गौरीशङ्कर हिमालको दृश्य अत्यन्त चित्ताकर्षक छ, यसर्थ सो स्थान घुमफिरका लागि अत्यन्तै उपयुक्त छ।

म भने २०२२ सालमा प्रवेशिका परीक्षा दिन काठमाडौँ बसेदेखि सरस्वती पूजाको रमाइलोबाट विमुख छु । तर याद भने प्रत्येक वर्ष आइरहन्छ । खास गरेर दुईपटकको सरस्वती पूजाको याद ताजै छ ।

पहिलो, म सायद ६ कक्षामा पढ्दा वा ९ वर्ष हुँदा मैले सरस्वती पूजाको दिन पिकनिक जान रहर गरेको देखेर मुमाले टोलका बाजे नाताकाहरुसँग पैसा र चिउरा दिएर साथ लगाउनुभएको थियो । सरस्वती थान पुगेर बाजेहरुले भाले पूजा गरेर ल्याएपछि नेवारी समइबजी बनाउने काम भयो । रमाइलो त आफूभन्दा धेरै पाकाहरुसँग के हुन्थ्यो र, तैपनि आउन पाएकोमा खुसी नै थिएँ । घाम ढल्केपछि फर्कने बेलामा त हाम्रो टोलीले भजन गाउन प्रयोग गरिने ठूलो मादल ‘खि’ बजाउँदै आयो पसन्त ऋतु… भजन पो गाउन थाले । मलाई न भजन भन्न आउने न भजन रमाइलो नै लाग्ने । अलिकति अगाडि बढेपछि भने झ्याउरे गाएर नाचेकाहरुको टोली फेला पर्यो । गीत गाउन त म निपुण नै थिएँ, मैले उसबेलाको चर्चित गीत गाउन थालेँ–

जोबन गयो बैँस त गएन लै लै, केश फुल्यो मन अझै तन्नेरी लै लै…
त्यो जोवनलाई सलाम, त्यो बैँसलाई सलाम,
चालीस वर्षे जोबनलाइ मेरो पनि सलाम ।

मेरो गीतको सुरमा गीतको बोलजस्तै उमेरको ४०–४५ पर्षका काका मज्जाले उफ्रीउफ्री नाचेका थिए, केटाहरुसँगै ।

अर्को चाहिँ, २०२१ सालतिर म भीम पब्लिक हाइ स्कुलमा ९ कक्षा पढ्दाको हो । त्यो साल हामीलाई स्कुलले सरस्वती पूजामा लाने भयो । सबैलाई कामको जिम्मेवारी दिइयो । मलाई र ७ कक्षाका जुँगु गाउँका साथी धर्मबहादुर खड्कालाई भने दोलखामा नपाउने भएर गाउँतिरबाट बोका किनेर ल्याउने जिम्मा दिइयो । साथी गाउँतिरका भएकाले उन्ले हुन्छ भने । अनि दोलखाबाट सिधा ओरालो तामाकोशी नदीको किनारामा रहेको नागदह पुर्याए । त्यहाँबाट फेरि ठाडो उकालो लगेर काभ्रे भन्ने गाउँमा बास बस्न पुर्याए । भोलिपल्ट उनले चिनेका मानिसले बोका मिलाइदिएपछि हामी फर्केका थियौँ । सरस्वती पूजाको दिन बोका पूजा गरेर भोज खाने बेला पिकनिकको लागि खटिएकाहरुलाई पुरस्कारको घोषणा गरे । हामी बोका ल्याउने दुई जनालाई चैँ बोकाकै विशेष भनेर ठट्टा गरेर सबैलाई हँसाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV