२० माघ २०७८, बिहीबार
  • दीलिप सहनी,

सिरहा । सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ । किसान आन्दोलन अन्तर्गत विहीबार (आज)देखि जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग ठप्प पारेको हो ।

सिरहा, सप्तरी, धनुषालगायतका जिल्लामा बन्दको पूर्ण प्रभाव परेको छ । राजमार्गमा लोकल सवारी बाहेक लामो दूरीका सवारी साधन चलेका छैनन् । जनमत पार्टीका कार्यकर्ताहरु सिरहाको राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै गरिरहेका छन् ।

किसानको माग सम्बोधन नभएपछि पुनः राजमार्ग बन्द गराउन बाध्य भएको जनमतका नेताहरुको भनाइ छ । राजमार्ग ठप्प हुँदा मधेश प्रदेश हुँदै पूर्व–पश्चिम आवतजावत गर्ने लामो दूरीका गाडीहरु पनि चल्न सकेका छैनन् ।

त्यसोत, राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् । राजमार्गमा एम्बुलेन्स, स्कूल बस, प्रेस लगायतका अत्यावश्यक सवारी साधनलाई भने रोक लगाइएको छैन । अन्य सवारी साधन सूचारु गर्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । तर, पनि सुरक्षाकर्मीको प्रयास असफल देखिएको छ ।

विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका ११ बुँदै माग राखेर जनमत पार्टीले किसान आन्दोलन गरिरहेको छ ।

LIVE TV