१५ माघ २०७८, शनिबार

स्वास्थ मन्त्रालयले केही दिन अगाडि ३२ कोरोना पोजिटिभ नमुनाको सिक्वेनसिङ्ग गर्दा २८ मा ओमिक्रोन पुष्टि भएको सार्वजनिक गरेको थियो । अर्थात् हाल नेपालमा ८८ प्रतिशतले अघिल्लो डेल्टा भेरियन्टलाई ओमिक्रोनले प्रतिष्ठापन गरेको भन्ने बुझिन्छ ।

चाखलाग्दो विषय के छ भने पुष २३ गते सार्वजनिक गरेको तथ्याङ्कको अनुसार ‘एस–जीन नेगेटिभ’ भएका नमुनामा ओमिक्रोन पुष्टि भएको थियो भने, झन्डै दुइ हप्ताको अन्तरालमा ८८ प्रतिशतमा ओमिक्रोन ‘एस–जीन पोजिटिभ’को परिवर्तित स्वरुपमा प्रस्तुत भएर आएको देखिन्छ ।

पीसीआर परीक्षण गर्दा ‘एस–जीन नेगेटिभ’ देखिए ओमिक्रोन भेरियन्ट हुनसक्ने मान्यतालाई चुनौती दिदै ‘एस–जीन पोजिटिभ’को रुपमा ओमिक्रोन देखा परेको हो । यसले हाल ओमिक्रोन छुट्याउन अपनाउदै आइरहेको पीसीआर विधि र उपायलाई छल्नसक्ने क्षमता विकास गरेकोले ‘एस–जीन पोजिटिभ’ ओमिक्रोनलाई ‘स्टिल्थ ओमिक्रोन’ अर्थात् ‘चुपके ओमिक्रोन’को उपनाम पनि दिएको छ ।

यसर्थ नेपालमा हाल ‘चुपके ओमिक्रोन’ले व्यापकता पाएको वा फैलिएको प्रष्टै हुन्छ । हाल यसलाई बीए.२ को नाम दिएको छ । बेलायतले हाल यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ कोरोना भाइरस अन्तर्गत राखेको छ ।

हाल ओमिक्रोन ‘एस–जीन नेगेटिभबाट पोजिटिभ’को स्वरुपमा प्रस्तुत भएर आएको भएता पनि लक्षणहरुमा भने खासै तात्तिक भिन्नता देखिदैन । ‘एस–जीन नेगेटिभ’को स्वरुपमा ओमिक्रोन प्रस्तुत हुँदा लेखकले अस्पतालले अस्वाभाविक तनावको सामना गर्नु परेको देखेन । तर, पछिल्लो समय सम्भवत् ‘एस–जीन पोजिटिभ’ ओमिक्रोन संक्रमितहरुले कमन–कोल्डसंग मिल्दो जुल्दो लक्षणहरु लिएर आउने गरेको भने देखेको थियो र छ ।

यी लक्षणहरु देखिनुमा ओमिक्रोन ‘एस–जीन नेगेटिभबाट पोजिटिभ’ भएर नै हो वा होइन भन्ने अनुमान अनुसन्धानकै बिषय हुनसक्दछ । ‘युके हेल्थ सेक्युरिटी एजेन्सी’का अनुसार बीए.२ अथवा ‘एस–जीन पोजिटिभ’ ओमिक्रोन ‘एस–जीन नेगेटिभ ओमिक्रोन’ भन्दा तुलनात्मक रुपमा छिटो फैलने क्षमता भएको उल्लेख गरेको छ । तर खोपको प्रभावकारिता र लक्षणहरुमा भने खासै भिन्नता देखिएको भनेको भने छैन ।

यद्यपी अनुसन्धानहरु तीब्र गतिमा भइरहेकोले ‘चुपके ओमिक्रोन’को बारेमा थप जानकारीहरु भने आउने क्रम जारी रहने छन् । सो एजेन्सीका अनुसार हाल ‘चुपके ओमिक्रोन’ भारतलगायत विश्वका चालिस देशहरुमा फैलिसकेको छ ।

भाइरसमा स्वरुप र जीनमा परिवर्तन हुनु स्वाभाविक र प्राकृतिक हो । जीनमा म्यूटेशन सँधै खराब हुन्छ नै भन्ने छैन । तर, म्यूटेशन हुँदा परीक्षणमा भने चुनौती आउने गर्दछ । पीसीआर परीक्षण विशेषत् जीन लक्षित हुने भएकोले म्यूटेशन देखिए पीसीआरको नतिजामा पनि फरक पर्न जाने गर्दछ ।

ओमिक्रोनमा पनि ‘एस–जीन नेगेटिभबाट पोजिटिभ’ देखिनुमा पनि यही कारण देखिन्छ । शुरुमा देखिएको ओमिक्रोमको स्पाइक जीनमा ६९–७० प्रोटिन नहुदा ‘एस–जीन नेगेटिभ अथवा एसजीन टार्गेट फेइलर’ हुने गरेको पाइन्छ ।

हाल नेपालमा भेटिएका ओमिक्रोनका नमुनामा ‘एस–जीन ड्रोप आउट’ नहुदा ‘एस–जीन पोजिटिभ’नै देखिएको प्रष्ट हुन्छ । तसर्थ, नेपालमा हाल एस–जीन नेगेटिभ वा पोजिटिभको आधारमा ओमिक्रोनको सम्भावना ब्यक्त गर्न सक्ने देखिदैन । यद्यपी ओमिक्रोनको अन्तिम पुष्टि र यकिन भने सिक्वेनसिङ्ग प्रविधिबाट नै गर्न सकिनेछ ।

डा शेरबहादुर पुन
संयोजक, क्लिनिकल रिसर्च युनिट
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल

प्रतिक्रिया दिनुहोस्
LIVE TV